मंसिर ८– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाको राष्ट्रवाद कालापानीमा पुगेर बिलय भएको टिप्पणी गरेका छन् । आज आईतबार बाग्लुङ निसीखोलामा आयोजित चुनावी सभामा बोल्दै देउवाले यस्तो बताइका हुन् । उनले कम्युनिष्ट नेताको असली राष्ट्रवादको हविगत अहिले आएर देखिइएको आरोप लगाए ।
उनले भने “प्रधानमन्त्री ओलीको राष्ट्रवाद नारा कालापानीमा पुगेर विलय भएको छ । हर हिसाबले असफल भइसकेको यो सरकारले नेपालका भूमि भारतका नक्सामा परे पनि उचित पहल गर्न सकेन” । देउवाले पोखरामा हिजो ओलीसंग सल्लाह गरेरै भारतले नक्सा निकालेको दाबी गरेका उनले ओलीको राष्ट्रवादले कालापानीमा घुँडा टेकेको भनी टिप्पणी गरे ।
उनले अगाडी थप्दै भने “ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन ? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ” । उनले कालापानीको बिषयमा प्रधानमन्त्री लम्पसार परेको बताए । उनले भने “यिनीहरू राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन् । जनताका आँखामा छारो हानेका छन्” । सरकार भ्रष्टचारमा डुबेको आरोप लगाउँदै अनावश्यक कर बढाएर जनतालाई दुख दिएको समेत बताए । यता देउवाले पोखरामा हिजो दिएको अभिव्यक्तिले भने नेपाली राजनीतिक क्षेत्रमा तरंग उत्पन्न गराएको छ । जसको संचारमन्त्री गोकुल बाँस्कोटाले कडा शब्दमा आजै खेद प्रकट गरिसकेका छन् ।