काठमाडौं, कात्तिक २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि जारी भएको आचारसंहिता सरकारले उल्लंघन गरेको भन्दै आपत्ति जनाएको छ ।
शुक्रबार कांग्रेस निर्वाचन अनुगमन समितिका संयोजक रमेश लेखकको नेतृत्वमा गएको टोलीले निर्वाचन आयोगका प्रमुख आयुक्तलगायतलाई भेटी सरकारलाई आचारसंहिताविपरीत काम नगर्न माग गरेको हो ।
निर्वाचन आचारसंहिता लागू भइरहँदा सरकारका मन्त्रीहरुले योजना वितरण गर्ने, स्थानीय पूर्वाधार सहकार्य कार्यक्रमका योजनाहरु बाँड्ने काम गरेको भन्दै कांग्रेसले त्यसलाई रोक्न माग गरेको छ ।
निर्वाचन आचारसंहितामा कर्मचारी सरुवा–बढुवासमेत हुन नसक्ने व्यवस्था रहेको भन्दै प्रदेशप्रमुख नै फेर्नेुले आचारसंहिताको घोर उल्लंघन भएको र सरकारले निर्वाचनलाई कब्जा गर्न लागेको कांग्रेसको आरोप छ ।
उसले निर्वाचन आयोगलाई स्वच्छ र मर्यादित तथा निष्पक्ष निर्वाचनका लागि सरकारलाई नियन्त्रण गर्न आग्रहसमेत गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले कतिपय अवस्थामा आचारसंहिता उल्लंघन गरेको अनुभूति आफूलाई पनि भएको भन्दै प्रतिपक्ष दलले उठाएको विषय गम्भीरताका साथ लिएको बताएको कांग्रेस नेता लेखकले जानकारी दिए ।
कांग्रेसले निर्वाचन आचारसंहिता कार्यान्वयन भए/नभएको देशभर अनुगमन गर्ने भएको छ ।