२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

उपनिर्वाचनमा कांग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ : सभापति देउवा

721 Shares
Spread the love

चितवन, १७ कात्तिक

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताउनुभएको छ । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उहाँले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै उपनिर्वाचनमा सबै एक भएर लाग्नु आवश्यक रहेको उहाँको भनाइ थियो । पार्टीभित्रको आन्तरिक कलहका विषयमा कार्यकर्ताको जिज्ञासापछि सभापति देउवाले भन्नुभयो, “उपनिर्वाचनमा उम्मेदवार विजयी गराउनुस्, पार्टीभित्रको विवाद अन्त्य हुन्छ ।”

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अन्य शक्ति एक ठाउँमा र काङ्ग्रेस दुई पार्टी जस्तो भएका कारण हार बेहोर्नु परेको भन्दै उहाँले उपनिर्वाचनमा यस्तो भए कारवाही गरिने चेतावनी दिनुभयो । अहिलेको निर्वाचनमा सरकारको नेतृत्व गर्ने शक्तिसँगको प्रतिस्पर्धा गर्नुपर्ने समयमा काङ्ग्रेसभित्र गुट उपगुटको अन्त्य गरी एउटै पार्टी बनेर निर्वाचन लड्नु आवश्यक रहेको सभापति देउवाले बताउनुभयो ।

स्थानीय तहमा हुने उपनिर्वाचनका लागि जिल्लाले उम्मेदवार तोकिसकेको बताउँदै उहाँले सङ्घ र प्रदेशमा हुने निर्वाचनका लागि आज साँझ बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाउने छ भन्नुभयो । जनतामाझ लोकप्रिय नेतालाई उम्मेदवार बनाइने उहाँको जिकिर थियो । काङ्ग्रेसको जनमत अहिले पनि नघटेको बताउँदै उहाँले जनमतको कदर हुने गरी काम गरिने विश्वास व्यक्त गर्नुभयो । भ्रातृ सङ्गठनको विवाद पनि केन्द्रीय समितिको बैठकबाट अन्त्य हुने सो अवसरमा उहाँले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया