तस्विर : ( Essex Live)
एसिक्स । बेलायतको एसिक्समा एउटा लरी कन्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडक ग्रेजमा स्थानिय समयानुसार राति १:४० तिर त्यहाँ शव भएको सूचना पाएपछि एम्बुलेन्स सेवाले प्रहरीलाई खबर गरेको थियो ।
एसिक्स प्रहरीका अनुसार उक्त लरी बल्गेरियाबाट हिँडेको र एङ्गलसीको हलिहेड हुँदै शनिवार ब्रिटेन छिरेको थियो । अहिलेसम्म ३८ जना वयस्क र एक किशोरको मृत्यु भएको थाहा भएको प्रहरीले जनाएको छ । हत्याको आशङ्कामा नोर्दन आयरलन्डका २५ वर्षीय लरी चालकलाई पक्राउ गरिएको छ।
एसिक्सका प्रहरीप्रमुख एन्ड्र्यू मरिनरका अनुसार अधिकारीहरूले मृतकको पहिचान गर्ने प्रयास गरिरहेका छन्। तर त्यसको प्रक्रिया लामो हुन सक्ने बताइएको छ। “हाम्रो छानबिन सुरु भइसकेकाले उनी हिरासतमा रहेका छन्,” उनले भने।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो दु:खद घटनाबाट आफू स्तब्ध भएको टिप्पणी गरेका छन्।
“मैले घटनाबाट निरन्तर जानकारी लिइरहेको छु र गृह मन्त्रालयले सत्यतथ्य पत्ता लगाउन एसिक्स प्रहरीसँग मिलेर गर्नेछ,” जोनसनले भने।
वाटरग्लेड औद्योगिक क्षेत्र बन्द गरिएको छ र त्यहाँ प्रहरीले घेराबन्दी गरेको छ ।