काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को बैठकका निर्णय सहमतिका आधारमा हुनुपर्ने बताएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले संवैधानिक परिषद्को बैठकका निर्णय बहुमतीय प्रक्रियाबाट गर्दा संविधानको भावना प्रतिकूल हुने भन्दै यस्तो बताएको हो।
संवैधानिक आयोगमा गरिने नियुक्तीलाई पार्टीगत रुपमा हेर्न नहुने जनाउँदै बैठकले यस बारेमा सभापति देउवालाई अडान लिन सुझाएपछि देउवाले सहमति खोज्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।
‘बैठकमै सभापतिज्यूले प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभयो’, देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संवैधानिक परिषद्मा सहमतिबाटै पदाधिकारी नियुक्त गर्नुपर्छ। एकलौटी गर्ने भए परिषद्को औचित्य के ?’
देउवाले संसदीय व्यवस्थामा संवैधानिक परिषद् बनाउने भनेकै प्रमुख प्रतिपक्षको सहभागीता गराउनु हो भन्ने अडान अगाडि सारेका छन्। । सँगै बैठकले अनौपचारिक छलफल गरी सहमति पश्चात मात्र औपचारिक बैठक राख्दा राम्रो हुने सल्लाह दिएको छ।
बैठकमा सभापति देउवाले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग सत्य निरुपण तथा मेलमिलाप आयोगलगायत अन्य संवैधानिक निकायमा पदाधिकारी नियुक्ति सम्बन्धमा भएको छलफलका बारेमा समेत जानकारी गराएका छन्।
यसैगरी बैठकमा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार तय गर्ने सम्बन्धमा समेत छलफल भएको छ।
काङ्ग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेदवार टुङ्गो लगाउन र अन्य तयारीका लागि यही कात्तिक ७ गते केन्द्रीय समिति बैठक बोलाएको छ। त्यसअघि बुधबार नै पदाधिकारी बैठक पुनः बसेर केन्द्रीय समितिमा छलफल हुने कार्यसूचीका बारेमा समेत सहमति गरिने उनले जानकारी दिए।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, नेता रमेश लेखक, डा मीनेन्द्र रिजाललगायत सहभागी थिए।