काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २२ जनालाई जिउँदै ईँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका काँग्रेस सांसद मोहम्मद आलमको बचाउमा आफु र काँग्रेस नलागेको स्पष्ट पारेका छन्। उनले आलम विरुद्धको अनुसन्धानमा काँग्रेसले सहयोग गर्नेसमेत बताएका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन्। शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले आलमको बचाउनमा बोलेको भन्ने सञचार माध्यममा आएपछि शनिबार उनले त्यहाँ आफुले त्यस्तो नबोलेकोसमेत बताएका छन्।
उनले शनिबार विज्ञप्ति मा भनेका छन्, ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’
सभापति देउवाले अगाडि भनेका छन्, ‘मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।’
आलमहाल प्रहरीको हिरासतमा छन्। २०६४ संविधानसभाको निर्वाचनको मतदान हुनु अघिल्लो दिन बम विस्फोट गराउने योजना बनाएको र त्यहाँ आकस्मिक रुपमा आफै बम विस्फोट हुँदा घाइते भएकाहरुलाई नजिकैको ईँटा भट्टामा जलाइएको पीडितहरुको आरोप छ।
आलम त्यतिबेला रौतहट २ बाट संविधानसभामा विजयी भएका थिए। २०७४ को आम निर्वाचनमा पनि उनी रौतहट २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए। प्रहरीले पक्राउ गरेसँगै उनी हाल निलम्बित भएका छन्।
देउवाको विज्ञप्ति :
सबै अस्पष्टता र अन्यौल निवारणार्थ
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न यो विज्ञप्ति जारी गरेको छु ।
कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।
तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।
जय नेपाल १
शेरबहादुर देउवा
सभापति