एजेन्सी । भारतस्थित विहार राज्यको राजधानी पटनाबाट तीन तलाक सम्बन्धी एउटा अनौठो घटना बाहिर आएको छ । पीडित महिलाका अनुसार उनका श्रीमनले रक्सी नखाएको र छोटा कपडा नलगाएको भन्दै उनलाई तीन तलाक दिएको बताएकी छिन् ।
श्रीमानले आफूलाई आधुनिक बन्न दबाब तथा फरक–फरक कपडा लगाउन दबाब दिँदै आएको उनले बताइन् । भारतीय न्युज एजेन्सी एनएनआईसँगको कुराकानीका क्रममा उनले यस्तो बताएकी हुन् ।
‘सन् २०१५ मा इमरान मुस्ताफसँग मेरो विवाह भएको थियो । विवाहको केही दिनपश्चात हामी दिल्ली गयौं,’ उनले एनएनआईसँगको कुराकानीमा भनेकी छिन्, ‘केही महिनापछि पतिले मलाई पनि शहरका अरु महिला जस्तै आधुनिक बन्न दबाब दिइरहन्थे । उनी चाहान्थे कि म छोटा कपडा लगाउँ, नाइट पार्टीमा जाउँ, रक्सी खाउँ । यसलाई मैले इन्कार गरिदिएँ । जसका कारण उनी मलाई पिट्ने गर्दथे ।’
पीडित महिलाले राज्य महिला आयोगमा उजुरी दर्ता गराएको बताएकी छिन् । महिला आयोगले उनका पतिलाई नोटिस पनि पठाइसकिएको जनाएको छ । आयोगकी अध्यक्ष दलमणि मिश्राले भनिन्, ‘सेप्टेम्बर एकमा पतिले तीन तलाक दिए, हामीले यस प्रकरणमा आरोपीलाई नोटिस पठाइसकेका छौं ।’
भारतमा अहिले तीन तलाकलाई अपराध मानिन्छ ।