काठमाडौं, असोज २५ : नेपालको दुई दिने राजकीय भ्रमणमा केहीबेरमा काठमाडौं अवतरण गर्न लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आजै भेटवार्ता गर्ने भएका छन्।
सी त्रिभुवन विमानस्थलमा अवतरण गरेलगत्तै होटल सोल्टीमा केहीबेर आराम गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास पुग्नेछन्। राष्ट्रपति भण्डारीलाई भेटेर होटल फर्के लगत्तै चिनियाँ राष्ट्रपति सीले साँझ ७ः ३० बजे कांग्रेस सभापति देउवासँग भेटवार्ता गर्ने भएका हुन्।
सीले पहिलो राजनीतिक नेताका रुपमा देउवासँग भेट गर्ने भएका छन्। त्यसपछि प्रधानमन्त्री केपी ओलीसँग भने होटल सोल्टीमै भोलि (आइतबार) बिहान भेटवार्ता हुने कार्यक्रम छ।
सी नेपाल आउन तयारी गरिरहेका बेला देउवाले चिनियाँ भाषामा ट्वीट गरेर स्वागत गरेका छन्। देउवाले ट्वीटमा लेखेका छन्, ‘नेपालमा स्वागत छ, राष्ट्रपति सी चिनफिङ।’
यसअघि चिनियाँ राष्ट्रपति जियाङ जेमिनले देउवा प्रधानमन्त्री हुँदा २३ वर्षअघि २०५३ मंसिरमा नेपाल भ्रमण गरेका थिए।