२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

काभ्रेमा तत्कालीन एमालेका दुई योद्धाको शालिक निर्माण गरिने

1646 Shares
Spread the love

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ ।

नगरपालिकाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व. रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व. बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो ।

यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताए । ‘दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट छुट्याइसकेको छ, अब जमिनको खोजीमा छौँ’, नगरप्रमुख खरेलले भने ।

पञ्चायतविरुद्धको आन्दोलनमा क्रियाशील एवं पाँचखाल कम्युनिष्टका अगुवा बानियाँको गत वर्ष चैत ३० गते ६३ वर्षको उमेरमा मस्तिष्कघातका कारण मृत्यु भएको थियो ।

उनी वि.सं. २०४९ र २०५४ मा नेकपा (एमाले)का तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । नगप्रमुख खरेलले नगरका अगुवालाई सालिक निर्माणार्थ उपयुक्त स्थान पहिचान गर्न आग्रहसमेत गरेका छन् ।

उनका अनुसार बानियाँको स्मृतिमा चौतारो तथा सापकोटाको सालिक निर्माण गर्न छुट्याइएको बजेटबाट एकै स्थानमा दुवैको सालिक बनाइने भएको हो ।

सापकोटालाई भने करीब २० वर्षअघि पाँचखाल गाविस उपाध्यक्ष रहेको अवस्थामै तत्कालीन विद्रोही पक्षले बेपत्ता बनाएको थियो ।

वि.सं. २०५६ मङ्सिर १४ गते छिमेकीको घरमा महिला क्षमता अभिवृद्धि तालीम सञ्चालन भइरहेको र साँझपख प्रशिक्षार्थीलाई खाना खुवाउन आफ्नै घरमा व्यस्त रहेका समयमा बेपत्ता बनाइएको र केही वर्षपछि विद्रोही पक्षबाट एक औपचारिक कार्यक्रममा ‘सफाया’ गरेको घोषणा गरिएको थियो ।

सापकोटा तत्कालीन अवस्थामा ‘सर्वहारा वर्गको मुक्ति’ नाराका साथ अभियानमा सक्रिय थिए । शहीद सापकोटाका पत्नी र दुई छोरी छन् ।

सापकोटाकी पत्नी सरिताले सालिक निर्माणले आफूलाई अनाथ महसुस हुनबाट जोगाएको बताइन् । सापकोटा परिवारले ‘नेपालका शहीद’मा सूचीकृत गर्न माग गर्दै आएको छ ।

उनको सम्झानामा केही वर्षअघि उनकै गाउँ ढुङ्गानाबेँसीमा ‘बलराम स्मृति खेल मैदान’ निर्माण गरिएको छ ।

प्रतिक्रिया