नेपाल राष्ट्र बैंकले हिसाब मिलान र वितरणमा समस्या आएपछि २५ रुपैयाँ दरका नोट छाप्न छाडेको छ।
२५ रुपैयाँ दरका नोट छाप्न छाड्नुको रहस्य खोल्दै केन्द्रीय बैंकले यस्तो जानकारी गराएको हो।
केही वर्षअघि राष्ट्र बैंकले २५ रुपैयाँ दरका नोट छापेको थियो। तर, ती नोट एकपटक छापेपछि एकाएका छाप्न बन्द भएको थियो। पछि २५ रुपैयाँ दरका नोट छाप्ने चेष्टा राष्ट्र बैंकले गरेन।
हिसाब मिलान र वितरणमा समस्या आएपछि २५ रुपैयाँ दरका नोट छाप्न छाडिएको नेपाल राष्ट्र बैंक मुद्रण व्यवस्था विभागका एक कर्मचारीले बताए। ‘एकपटक छापिएपछि अर्को पटकदेखि छाप्नै छाडियो,’ उनले भने, ‘हिसाबमै गडबड हुने भएकाले पनि पुनः छाप्ने चेष्टा गरिएन।’
२५ रुपैयाँ दरका नोटले व्यवहारिक रुपमा समस्या निम्त्याउने काम गरेकोले पनि छाप्न छाडिएको पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताए। ’हिसाब गर्दा जहिले पनि बिजोड (अड) नम्बर हुने भएकाले २५ रुपैयाँ दरका नोट व्यवहारिक भएन्’ उनले भने, ‘एक प्याकेट गन्दा २५ सय हुने र गन्नमै समस्या हुने भएकाले पनि छाप्न बन्द गरिएको हो।’
विश्वका अन्य देशमा पनि बिजोर नम्बरका नोट चलनचल्तीमा नभएको पूर्वगभर्नर क्षेत्रीले जानकारी दिए।
’हजारले भाग जाने नोटहरु बढी व्यवहारिक देखिए,’ उनले भने, ‘व्यवहारमा जे सहज हुन्छ त्यही बढी प्रयोगमा आउने भएकाले २५ दरका नोट विस्थापित भएका हुन्।’ उक्त नोट झट्ट हेर्दा ५ सय दरका जस्तै देखिँदा दुरुपयोग बढी हुन थालेपछि केन्द्रीय बैंकले प्रचलनमा ल्याउन छाडेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।
राष्ट्र बैंकले २५ रुपैयाँ दरका नोटको अलावा २ सय ५० दरका नोट पनि निष्कासन गरेको थियो। २ सय ५० का नोट सेरेमोनियल रुपमा आएको राष्ट्र बैंक मुद्रण व्यवस्था विभागका ती कर्मचारील बताए। ‘स्मारिकाको रुपमा आए,’ उनले भने, ’त्यसपछि ती नोट पनि हराए।’
राष्ट्र बैंकले १० रुपैयाँ दरका पोलिमर नोट पनि छापेर चलनचल्तीमा ल्याएको थियो। ती नोट पनि अन्य नोटभन्दा छिटो खुइलिएको भन्दै छाप्न छाडेको छ।
राष्ट्र बैंकले परीक्षणको रुपमा उक्त नोट बजारमा ल्याए पनि टिकाउ र भरपर्दो नभएका कारण पुनः प्रयोगमा ल्याउन छाडेको छ। विकसित देशले नयाँ औषधि परीक्षण अति विपन्न देशमा गरेजस्तै राष्ट्र बैंकले पनि परीक्षणका लागि नयाँ दरका नोट बजारमा ल्याएको थियो।
राष्ट्र बैंकले पछिल्लो समय २५ रुपैयाँ दरका नोट छाप्न छाडिसकेको छ। १ र २ रुपैयाँका कागजी नोट पनि छाप्न छाडेको छ। अहिले राष्ट्र बैंकले पनि बढी प्रचलनमा आउने ५, १०, २०, ५०, १००, ५०० र १००० का नोट छापिरहेको छ।