काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)बीचको छलफल भव्यतापूर्वक सम्पन्न भएको छ ।
दुई देशका कम्युनिस्ट पार्टीको यो विचारधारात्मक छलफललाई नेकपाको विदेश विभाग र सिपिसीको विदेश विभागले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
हेर्नुस् विज्ञप्ती
“विचारधारात्मक छलफल” कार्यक्रम समापनको सन्दर्भमा जारी प्रेस विज्ञप्ति
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा २०७६ असोज ६ र ७ गते काठमाडौंमा ‘विचार धारात्मक छलफल’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।
सि जिनपिङ् विचार धाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलका रुपमा आयोजित उक्त कार्यक्रमको उद्घाटन नेकपाका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । उद्घाटनको क्रममा उहाँले चीन र नेपालबीच समस्यारहित सम्वन्ध रहेको तथ्य स्पष्ट गर्नुभयो । पार्टी स्कुल विभाग प्रमुख उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले आ–आफ्नो महत्वपूर्ण विचार राख्नुभएको थियो ।
कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चारवटा प्रस्तुति रहेका थिए। चिनियाँ केन्द्रीय पार्टी स्कुलका तर्फबाट Cao Li ले– मध्यम स्तरीय सहज समाजको निर्माण सम्पन्न गर्नेबारे, संगठन विभागका तर्फबाट Xu Nan Peng ले–पार्टी अनुशासनको सुदृढ कार्यान्वयन सम्वन्धमा, पार्टी स्कुलका तर्फबाट Qin Gang ले–सुधार कार्यलाई व्यापक बनाउने सम्वन्धमा र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका तर्फबाट Shi Yu Long ले–एक क्षेत्र एक सडक योजना निर्माणको संयृुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्वन्धमा विचार प्रस्तुत गरिएका थिए । उद्घाटन र समापन सत्रको सञ्चालन तथा विचार प्रस्तुती सत्रको अध्यक्षता नेकपा पार्टी स्कुल विभागका तर्फबाट स्थायी कमिटी सदस्य एवं उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुषालले गर्नुभएको थियो ।
उक्त प्रस्तुतिमा सहभागीहरुद्धारा विभिन्न जिज्ञासा राख्दै प्रश्नोत्तर समेत गरिएको थियो । दुई दिवसीय यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करिव ३०० जना र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको थियो । चिनियाँ राष्ट्रपति महामहिम सि जिनपिङ्को नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहको सन्दर्भका बीच आयोजित यस विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव पारेको छ । यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो पहिलो कार्यक्रम हो । यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको छ र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन आधार प्रदान गरेको छ ।
यसैबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर गरिएको छ । नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले उक्त सहमतिमा असोज ७ गते हस्ताक्षर गर्नुभएको छ, जसले दुई पार्टीलाई भविष्यमा अझ घनिष्ट र आशंकारहित सम्वन्धमा आवद्ध गर्ने विश्वास गरिएको छ ।
कार्यक्रमको समापन सत्रमा अध्यक्षता गर्दै पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले विचारधारात्मक छलफल कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको समीक्षा सहित दुवै पार्टीका नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेकपाको कार्यविभाजनपश्चात्त पहिलो आयोजनाको रुपमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको यो कार्यक्रम शानदार रुपमा सम्पन्न भएको धारणा सहभागीहरुका तर्फबाट भगवती चौधरी, खिमलाल भटराई, रामकुमार शर्मा, रामदीप आचार्य, गोरखबहादुर बोगटी, ऐनबहादुर महर र विचार प्रस्तोताका तर्फबाट चिनियाँ केन्द्रीय पार्टी स्कुलका प्रतिनिधि Cao Li ले व्यक्त गर्नुभयो ।
यस विचारधारात्मक छलफल प्रक्रियालाई भविष्यमा पनि विभिन्न रुपमा निरन्तरता दिन कोशिस गरिनेछ । यस कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सबै नेता, कार्यकर्ता र सहभागीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
सूर्य थापा
उपप्रमुख, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग
नेपाल कम्युनिष्ट पार्टी
असोज ७, २०७६