२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सरकारविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

1293 Shares
Spread the love

काठमाडौं ।  नेपाली कांग्रेसले २४ भदौबाट सुरु गरेको दोस्रो चरण जागरण अभियान सरकारका निरंकुश कदमका विरुद्ध प्रदर्शन गर्दै समापन गरेको छ । कांग्रेसले आफ्ना नेता वीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसर पारेर ३ सय ३० वटै प्रदेशस्तरीय निर्वाचन क्षेत्रमा करिब ३५ हजार विरुवा रोपेर दोस्रो चरणअन्तर्गत जागरण कार्यक्रम संचालन गरेको थियो ।
जागरण अभियान कांग्रेस, कांग्रेसी र मतदाताहरुलाई जोड्न भन्दै सञ्चालन गरिएको कांग्रेसले बताउँदै आएको छ । यसैगरी बढ्दो महंँगी तथा भ्रष्टाचार, वाइडबडी तथा न्यारोबडी प्रकरण, बढ्दो महिला हिंसा, बलात्कार र हत्या, सरकारले ल्याएका अलोकतान्त्रिक विधेयक तथा कम्युनिस्ट सरकारको कुशासनका विरुद्ध जागरण गरिएको कांग्रेसको भनाइ छ । जागरणअन्तर्गत नै कांग्रेसले आम कार्यकर्तालाई जागृत बनाउने उद्धेश्य समेत लिँदै आएको छ ।
कांग्रेसले मंगलबार जागरण समापनका क्रममा राजधानी काठमाडौंसहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको हो । दोस्रो चरणको जागरण समापन सभा तथा सरकार विरुद्धको देशैभर भएका विरोध सभालाई कांग्रेसका केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गरेका छन । रोल्पामा भएको विरोध सभालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारका गलत कामका विरुद्ध आम नेता कार्यकर्तालाई सचेत रहन आग्रह गरे ।

यसैगरी कांग्रेस उपसभापति विमलेन्द्र निधिले कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सरकार निरंकुश शैलीमा अघि बढिरहेको बताए । निधिले सरकारका कारण पछिल्लो समय संविधानसमेत खतरामा पर्दै गएको र संविधान, संघियता र लोकतन्त्रको रक्षाका लागि कांग्रेसको खबरदारी आवश्यक रहेको बताएका हुन ।
यसैगरी महामन्त्री डा. शशांक कोइरालाले खोटाङमा भएको विरोध सभालाई सम्बोधन गरे । कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाममा भएको विरोध सभालाई सम्बोधन गरेका हुन ।
पूर्वमहामन्त्ती कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्माले सुनसरीमा आयोजित समापन कार्यक्रमलाई सम्बोधन गरे । विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले सरकार संविधान भन्दा बाहिरबाट चल्न खेजेको र एकपछि अर्को गर्दै त्यसको संकेतहरु देखा पर्दै गएको बताए ।
यस्तै नुवाकोटमा भएको विरोध सभालाई नेता डा. शेखर कोइरालाले सम्बोधन गरेका छन् । उनले सरकारबाटै व्यवस्थाप्रति शंका व्यक्त हुन थालेपछि जनतामा निराशा बढेको भन्दै सरकारबाटै व्यवस्थामा खतरा रहेको बताए ।
नेता कोइरालाले पार्टीभित्रको गुटबन्दी नेताहरुले हात उचालेर हामी मिल्यौं भन्दैमा समाप्त नहुने भन्दै आगामी १४औं महाधिवेशनपछि मात्रै अन्त्य हुने बताए । उनले आम नेता कार्यकर्ताहरुको सम्मान पार्टीभित्र आवश्यक रहेको समेत प्रष्ट्याए ।

जनकपुरमा भएको विरोध सभालाई युवा नेता गगन थापाले सम्बोधन गरे भने मोरङमा भएको विरोध सभालाई डा. मिनेन्द्र रिजालले सम्बोधन गरे । दोस्रो चरणको जागरण अवधीभर कांग्रेसले देशभर गरी ३५ हजार विरुवासमेत रोपिएको बताएको छ । कांग्रेसले संगठन सुदृढीकरण, सरकारविरुद्धका गतिविधिलगायतका १५ वटा मुख्य मुद्दालाई लिएर गत २५ बैशाखबाट २५ जेठसम्म गरी एक महिना ७७ वटै जिल्लामा जिल्ला स्तरीय जागरण अभियान संचालन गरेको थियो ।
तेस्रो चरणको अभियान भने ७ पुसबाट १६ गतेसम्म अर्थात १० दिन ७ सय ५३ वटै स्थानीय तहमा आयोजना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया