काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालामाथिको आक्रमणको विषय लिएर संघीय संसद् अवरुद्ध ग¥यो । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कोइरालामाथि अक्रमण गरे पनि उनीहरूलाई कारबाही प्रक्रिया अघि नबढाएको भन्दै कांग्रेसले कारबाहीको माग राख्दै आइतबार संसद् अवरुद्ध गरेको हो ।
बाँकेमा जागरण अभियानको क्रममा सभापति कोइरालामाथिको घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापाले संसद्लाई जानकारी गराउँदा घटनालाई प्रतिपक्षले राजनीतिकरण गरेको बताएपछि कांग्रेस सांसदले आपत्ति जनाएको हो । घटनाका दोषीहरूलाई सरकारले कारबाही गर्न नचाहेको र प्रहरीले किटानी जाहेरीसमेत नलिएको भन्दै प्रमुख सचेतक बालकृष्ण खाँणले तत्काल कारबाही सुरु गर्ने प्रक्रिया थाल्न आग्रह गरेका थिए । गृहमन्त्रीले रोस्टमबाट दुईपटक घटनाबारे सरकारको धारणा राखेका थिए । उक्त धारणा चित्त बुझ्दो नभएको भन्दै कांग्रेस सांसद उठेर विरोध गरिरहेपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद् स्थगित गरेका थिए ।
यसअघि अवरोध गरी कांग्रेसकी सचेतक पुष्पा भुसालले सरकारले सत्ताको उन्मादका कारण हो वा असफल भएर हो, नेपाली कांग्रेसका नेता कार्यकर्तामाथि आक्रमण गरेको भनी प्रश्न उठाइन् । प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै भुषालले बाँकेमा नेकपाका कार्यकर्ताले गरेको आक्रमणको बारेमा बोल्दै सरकारले गरेको भ्रष्टाचारविरुद्ध जागरण कार्यक्रम गर्दा आक्रमण भएको दाबी गरिन् । उनले प्रश्न गरिन्, ‘दोस्रो दिनको जनजागरण कार्यक्रमको सुरुवातमै सरकारले गरेको भ्रष्टाचारलाई केन्द्रित गरेर अघि बढाउने डरले हो वा सत्ताको उन्मादले हो वा सरकार असफल भएको हो ।’
पार्टी सभापति र केन्द्रित प्रतिनिधिमाथि भएको कुरा गम्भीर भन्दै सचेतक भुसालले यसमा गृहमन्त्रीले तत्काल जाहेरी दिएकाहरूलाई पक्राउ गर्न आदेश दिन माग गरिन् । ‘यो आक्रमण गैरराजनीतिक हो भनेर कसरी गृहमन्त्रीले भन्नसक्नुहुन्छ, लोकतन्त्रको स्थापना भएको छ,’ उनले भनिन्, ‘प्रमुख प्रतिपक्षको रूपमा नेपाली कांग्रेसले सरकारलाई सहयोग गरिरहेको छ । बाँकेमा जसरी किरण कोइरालामाथि जसरी आक्रमण भएको यो निन्दनीय छ ।’ राजनीतिक कार्यक्रम गर्दा हलभित्र छिरेर हिंसात्मक आक्रमण गरिएको उनले आरोप लगाइन् ।
‘यो नियोजित आक्रामण नै हो, त्यसको प्रमाण घटना आफैं छ,’ उनले भनिन्, ‘जाहेरी लिन जाँदा सीडीओ र गृहमन्त्रीलाई खबर गर्दा किन बेवास्ता गरियो ।’ वडाध्यक्षसहित नेकपाका कार्यकर्ताविरुद्ध किटानी जाहेरी दर्ता भएकाले उनीहरूलाई पक्राउ गर्न आदेश नभएसम्म सदन चल्न नदिने उनले बताइन् । ‘कम्युनिस्ट नेता आउनेबित्तिकै राजनीतिक होइन, भन्न गृहमन्त्रीले कसरी भन्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘लोकतन्त्रमा कसरी पूर्वाग्रही हुन सकिन्छ ।’
यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अमेरशकुमार सिंहले बाँकेको खजुरामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले सभापति कोइरालामाथि गरेको आक्रमण लोकतन्त्रमाथिको हमला भएको बताए । प्रतिनिधिसभा संसद्मा गृहमन्त्री रामबहादुर थापा बादलले बाँके घटनाबारे आइतबार सदनलाई जानकारी गराएपछि पूरक प्रश्न सोधेका सांसद सिंहले भने, ‘यो लोकतन्त्रमाथिको हमला हो । सत्तापक्षले पार्टीको संरक्षण र संवद्र्धनका लागि राज्यको गृह प्रशासन दुरुपयोग गरिएको छ,’ उनले घटनास्थलको सुरक्षा दिन नसक्ने नेपाल प्रहरीको आलोचना गरे । ‘नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा अन्यथा नहोला,’ उनले भने, ‘माथिकै निर्देशनमा घटना घटेको देखिन्छ ।’ गत बिहीबार नेकपा कार्यकर्ताले बाँके सभापति कोइरालाको हात भाँचिदिएका थिए ।