२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

नेपालको फराकिलो जीत, दोहोरो शतक बनाउन अनिल शाह दुई रनले चुके

2376 Shares

काठमाडौँ। युरोप भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा शानदार जित निकालेको छ। अनिल शाह र शरद भेसावकरले दोहोरो शतकीय साझेदारी गरेपछि २२३ रनको जित हात पारेको हो।

इस्ट लन्डन एघारसँग टस हारेर पहिले ब्याटिंग गरेको नेपालका लागि अनिल कुमार शाहले आफ्नो अघिल्लो खेलको अर्धशतकलाई निरन्तरता दिँदै १३१ रनको पारि खेल्नेक्रममा चौथो विकेटको लागि शरद भेसावकरसँग २१२ रनको साझेदारी गरे। अनिलले ११८ बलको सामना गर्दा १९ चौका र ३ छक्का तथा मात्र २ रनले शतकबाट चुकेका शरदले ८६ बलमा ६ चौका र समान छक्का प्रहार गरे। यस्तै सोमपाल कामिले २९ रन, करण केसीले पारीको अन्तिम बलमा छक्का सहित १३ रन, रोहित पौडेलले ११ रन बनाउँदा नेपालले अतिरिक्त २६ रन प्राप्त गर्दै निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रनको योगफल तयार पार्यो। बलिंगतर्फ इस्ट लन्डन एघारका अर्शलन खानले ३ विकेट लिन ४८ रन तथा नबील एजाजले समान ४८ रनमा २ विकेट लिए। जवाफमा लक्ष्य पछ्याउन उत्रेको इस्ट लन्डन एघारले ३८.५ ओभरमा मात्र ११५ रन बनाउँदा सबै विकेट गुमायो।

उसका लागि ड्यारेन अईरनसाइडले ३८ रन बनाउन ७३ बलमा ४ चौका तथा दशौँ नम्बरका भाजले २२ रन बनाएपनि नेपालको कसिलो बलिंगसामु झुक्न पुग्यो। नेपालको तर्फबाट शक्ति गौचनले ४ विकेट लिन ९.५ ओभरमा २३ रन खर्चे भने करण केसी र ललित राजबंशीले समान २–२ विकेट हात पारे। नेपालले लर्ड्स क्रिकेट मैदानमा जुलाई २९ तारिखमा त्रिकोणात्मक सिरिज खेल्नुअघि आफ्नो चौथो तथा अन्तिम अभ्यास इस्ट लन्डन सार्क टिम विरुद्ध टि–२० खेल्ने छ।

प्रतिक्रिया