लन्डन (बेलायत) । बेलायतमा विना कुनै सम्झौता यूरोपेली संघ (ईयू) बाट बाहिरिने वा सम्झौता गरेर बाहिरिने भन्ने विषयमा संसद्मा बुधवार नेपाली समय अनुसार मध्यराततिर मतदान हुँदै छ ।
मतदानमा धेरै सांसद विना कुनै सम्झौता ब्रेक्जिटको विपक्षमा देखिएका छन् । यदि उनीहरू विना सम्झौताको ब्रेक्जिट रोक्न सफल भए प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिटको अहिले तय गरिएको अक्टोबर ३१ को मिति थप गर्न प्रस्ताव गर्नेछन् । जोन्सनले कुनै पनि अवस्थामा अक्टोबर ३१ मा ब्रेक्जिट हुने दाबी गर्दै आएका छन् । विना कुनै सम्झौता ब्रेक्जिट रोकिए प्रधानमन्त्रीले अक्टोबर १५ मा आम निर्वाचन घोषणा गर्नेछन् । ब्रेक्जिटको म्याद पर सारेर सम्झौतासहित ब्रेक्जिट हुनुपर्नेमा विपक्षीले जोड दिँदै आएका छन् । मंगलवार ब्रेक्जिटको म्याद सार्ने विषयमा छलफल हुनुपर्छ भन्ने पक्षमा सत्तारूढ कन्जरभेटिभ पार्टीका २१ सांसदले मतदान गरेका थिए ।
जोन्सनको पक्षमा ३०१ र विपक्षमा ३२८ मत खसेको थियो । प्रधानमन्त्री बनेपछि संसद्मा जोन्सनको यो पहिलो हार हो । यससँगै जोन्सनले विपक्षीलाई सहयोग गर्ने २१ सांसदलाई निलम्बित गरेका छन् । निलम्बित हुनेमा पूर्व
अर्थमन्त्री फिलिप ह्यामन्ड सहितका सांसद छन् । एजेन्सी