एजेन्सी । कश्मीरबाट विशेष अधिकार हटाएको विरोधमा पाकिस्तानी नागरिकले बेलायतको लण्डनमा प्रदर्शन गरेका छन् । बेलायत बस्ने करीब १० हजार पाकिस्तानीले लण्डनस्थित भारतीय उच्चायोगको कार्यालय अगाडि मंगलबार प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा पाकिस्तानीले भारतीय उच्चायोगको कार्यालयमा तोडफोडको प्रयाससमेत गरेका छन् ।
प्रदर्शनकारीले ढुंगा बर्साउँदा भारतीय उच्चायोगको कार्यालयमा क्षति भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । उच्चायोगका कार्यालयमा प्रदर्शनकारीले ढुंगा र इट्टाले आक्रमण गरेका थिए । पाकिस्तानीले यसअघि पनि स्वतन्त्रता दिवसको दिन उच्चायोगको कार्यक्रममाथि आक्रमण प्रयास गरेका थिए ।
प्रदर्शनमा बेलायती सांसद
प्रदर्शनमा ‘कश्मीर फ्रीडम’को नारा लगाइएको थियो । प्रदर्शनकारीले भारतीबाट कश्मीर स्वतन्त्र हुनुपर्ने माग गरेका थिए । कश्मीरको झण्डा बोकिएको उक्त प्रदर्शनमा केहि बेलायती लेबर पार्टीका सांसद पनि सहभागि भएको बताइएको छ ।
लण्डनका मेयरद्धारा घटनाको निन्दा
अनुच्छेद ३७० हटाएको ३० दिन पुग्दासमेत कश्मीरको अवस्था सामान्य नभएको प्रति लण्डनको प्रदर्शनमा पाकिस्तानीले विरोध जनाएका छन् । पाकिस्तानीले भारत सरकाले कश्मीरका जनतामाथि दमन गरेको आरोप लगाएका छन् । प्रदर्शनका क्रममा उनिहरुले काश्मीरी जनताको स्वतन्त्रताको अधिकार दिन माग गरे । उच्चायोग अगाडि भएको प्रदर्शनमा उनिहरुले भारत सरकारको विरोधसमेत गरेका थिए ।
कश्मीर स्वतन्त्रताको नारा लगाउँदै भारत सरकारको विरोध गरिएको प्रति लण्डनका मेयरले विरोध जनाएका छन् । उनले उच्चायोगको कार्यालयमा भएको तोडफोडप्रति निन्दा गरे । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो कार्य नदो-याउन पनि आग्रह गरेका छन् ।