काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद गगन थापाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई विश्राम लिन किन भनेको भन्दै सत्तारुढ नेकपासँग प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद थापाले बहुमतमा रहेको नेकपा कम्युनिस्ट पार्टीले सजिलैसँग नयाँ प्रधानमन्त्री छान्न सक्ने स्थितिमा ओलीलाई विश्राम दिन नचाहेको भन्दै आश्चर्य प्रकट गरे ।
‘कम्युनिष्ट पार्टीका साथीहरूले धेरैपटक प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गरेको सुनेको छु,’ थापाले भने, ‘प्रधानमन्त्री बासरह हुनुहुन्छ। हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौंरु बा धपेडी नगर्नुस्, आराम गर्नुस्, विश्राम गर्नुस्। हामी हाम्रो बालाई त्यसो भन्छौं तर हाम्रो प्रधानमन्त्री बालाई किन यसो भन्न सक्दैनौं ?’
सांसद थापाले मुलुकको कार्यकारी प्रमुख एक पटक लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीति मर्यादा जोखिममा पर्ने र शासकीय जिम्मेवारी पूरा नहुने भन्दै आपत्ति जनाए।
प्रधानमन्त्रीले विदेशमा उपचार गरेबापत सरकारी कोषबाट खर्च नलिने विषयको कांग्रेसले स्वागत गरेको छ। तर, प्रधानमन्त्रीको उपचारको बारेमा सरकारले संसद्लाइ यथार्थ जानकारी नगराएको भन्दै सांसद थापाले असन्तुष्टि जनाए। ‘जनताले आफ्ने प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा जान्न पाउनुपर्छ। मृर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्रीको इच्छाशक्ति, क्रियाशीलता, योगदान संसारको लागि नमुना बनोस्’ उनले भने।