२०८१, २२ भाद्र शनिबार
×

ट्रेन्डिङ

४२ जिल्लामा डेंगी रोगको संक्रमण

1934 Shares

काठमाडौं, भदौ १२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमणबाट झन्डै तीन हजार ७०० व्यक्ति प्रभावित भएको जनाएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले डेंगी रोग हालसम्म ४२ जिल्लामा फैलिएको र सबैभन्दा बढी प्रदेश नम्बर–३ र गन्डकी प्रदेशमा देखिएको जनाएको हो ।

प्रदेश–३ मा ५५९ जनामा डेंगीको संक्रमण देखिएको छ भने गन्डकी प्रदेशमा ३३९ जना प्रभावित भएका छन् ।

यस्तै, डोटी र दार्चुलामा पनि एक/एकजनामा सो रोग देखापरेको जनाइएको छ ।

काठमाडौंमा ६६ जनामा डेंगी रोगको संक्रमण फेलापरेको छ ।

चाबहिल, तीनकुने, त्रिपुरेश्वर र टोखामा डेंगीको संक्रमण पाइएको चिकित्सकहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका घनश्याम पोखरेलले डेंगी रोग नियन्त्रण गर्न हालसम्म ६ करोड १७ लाख रुपैयाँ निकासा भइसकेको बताए ।

रोग पहिचानका लागि सात हजार किट वितरण गरिएको पनि उनले जानकारी दिए ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले ‘एडिस’ जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगी लाग्यो भने प्यारासिटामोल र झोलिलो खानेकुरामात्र खाँदा पनि रोग पूर्णरुपमा निको हुने बताए ।

प्रतिक्रिया