२०८१, ६ असार बुधबार
×

ट्रेन्डिङ

दिन दिनै सुनको मूल्यले नयाँ रेकर्ड राख्दै : प्रतितोला ७३ हजार ५००

980 Shares

काठमाडौँ,

पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा सोमबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार हिजो छापावाला सुनको मूल्यमा प्रतितोला एक हजारले वृद्धि भई ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला एक हजार २०० ले वृद्धि भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजारका दरले वृद्धि भयो । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार २०० पुगेको छ । आइतबार तेजाबी सुन प्रतितोला ७२ हजार २०० मा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मूल्य १० वृद्धि भई प्रतितोला ८६० पुगेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला ८५० मा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको हो । साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको थियो । भदौ महिना लागेपछि पनि लगातार सुनको मूल्यमा उच्च वृद्धि भइरहेको छ । भदौमा छापावला र तेजाबी सुन प्रतितोला दुई हजार ५०० ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५००, तेजाबी सुन ६४ हजार २०० र चाँदी प्रतितोला ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५००, तेजाबी सुन ७१ हजार २०० तथा चाँदी प्रतितोला ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔँस एक हजार ५३२.७५ अमेरिकी डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्यवृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।
रासस

प्रतिक्रिया