
काठमाडौंं : वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले सरकारले निर्धारण गरेमध्ये तत्कालको लागि सबैभन्दा कम धरौटी २ करोड रुपैयाँ धरौटी राख्न थालेका छन्।
सोमबारसम्म एकसय ९ वटा म्यानपावरले ५० लाख रुपैयाँ नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखिसकेका छन् । ७६ वटा म्यानपावरले एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ।
सरकारले म्यानपावरको संख्यालाई नियन्त्रण गर्न र पीडित कामदारले पाउने क्षतिपूर्तिलाई ग्यारेन्टी राख्नका लागि बैंक धरौटी बढाएको थियो। जसमा भदौ १६ गतेभित्र नयाँ धरौटी रकम जम्मा गर्न समय तोकेको थियो। ‘सरकारले कामदार पठाउने संख्याको आधारमा फरक फरक धरौटी रकम निर्धारण गरेको छ,’ विभागका महानिर्देशक भीष्मकुमार भुसालले भने,‘अहिलेको अवस्थामा हेर्दा म्यानपावरको रोजाईमा निर्धारित मध्ये कम धरौटी रोजाइमा परेको छ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदार पठाउने संख्याको आधारमा ३ तहको धरौटी रकम निर्धारण गरेको थियो। जसमा वर्षमा ३ हजार कामदार पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, वार्षिक ५ हजार सम्म कामदार पठाउने म्यानपावरले एक करोड नगद र २ करोड बैंक धरौटी र वार्षिक ५ हजार भन्दा बढी कामदार पठाउने म्यानपावरले दुई करोड रुपैयाँ नगद र चार करोड बैंक ग्यारेन्टी राख्नुपर्नेछ।
म्यानपावर व्यवसायीले आवश्यक परेमा पछि थप्ने योजना बनाएका छन्। ‘अहिलेको अवस्था व्यवसायीको लागि कठिन छ। प्रमुख गन्तव्य मलेसिया बन्द छ। खाडीमा पहिलेजस्तो अवसर छैन,’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने,‘अवस्थामा सुधार आएमा थप रकम थप्दै जानेछौँ।’