मानिसको जीवनशैली, खानपान तथा वातावरण प्रदुषणका कारण क्यान्सर रोग चुनौतीपूर्ण बन्दै गएको छ । चिकित्सकका अनसार नेपालमा तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी र अन्य खाद्यबस्तुमा हुने मिसावटका कारण क्यान्सर रोगीहरु बढ्दै गएका छन् । पश्चिम चितवनका प्रकाशबाबु खनाल कृषक हुन् । उनले उत्पादन बढाउनका लागि आफ्नो बालिमा विषादीको प्रयोग गर्दै आएका छन् ।
यसरी विसादी प्रयोग गरेको तरकारी सेवन गर्नाले तत्काल केहि समस्या पैदा नगरेपनि कालान्तरमा यसले स्वास्थ्य सम्वन्धि जटिलता, क्यान्सर, बाझोपना तथा अन्य रोग निम्त्याउने भरतपुर बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर गंगा सापकाटाले जानकारी दिए ।
तरकारीमा बिषादी आवश्यकता भन्दा बढी प्रयोग भएको छ । जसका कारण मस्तिष्क मुटु, र क्यान्सर रोगका विरामीहरु बढ्दै गएको उनले बताए । मुलुकमा उत्पादितमध्ये केही स्थानका तरकारीमा मात्र विषादीको मात्राबारे अध्ययन गरिएको छ । तर, विषादीको अवशेषले नेपालीको स्वास्थ्यमा कस्तो प्रभाव गरिरहेको वा गर्न सक्छ भन्नेबारे कुनै अध्ययन छैन । ”विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रतिवेदनलाई उद्धृत गर्दै सापकोटाले भने, विषादी सम्भावित रूपले मानव स्वास्थका लागि प्रतिकूल हुनुका साथै दीर्घकालीन प्रभाव गरेको छ ।”
बाली जोगाउनका लागि प्रयोग गरिने औषधीले छाला, र स्वासप्रसासमा समेत असर गर्ने उनले बताए । स्तनपान गराउने आमाले बढि बिषादी हालेका खानेकुरा खाँदा बालकलाई समेत शारीरिक तथा मानसिक असर पुग्ने उनको भनाई छ । विश्वमा करिब एक हजारभन्दा बढी प्रकारका विषादी उपयोगमा छन । मुलुकमा बर्षेनी आउने करिब ६ सयदेखि ६ सय ५० मेट्रिक टन विषादीमध्ये करिब ८० प्रतिशत तरकारीमै उपयोग हुने गर्छ । मुलुकमा देखिएको क्यान्सर, उच्च रक्तचाप, मृगौला र कलेजो सम्बन्धी समस्या, मधुमेह, नपुंसकता, बाझोपना, मस्तिष्कमा असर, स्मरणशक्तिमा ह्रास, डिप्रेसनलगायत नसर्ने रोगको एक मुख्य कारण विषादीको मात्रा रहेको उनले बताए ।
अहिले विशेष गरि तरकारीमा ढुसिनासक, किटनासक, झारनासक विषादी प्रयोग गर्ने गर्दछन् । यी विषादी प्रयोग गर्दा विशेष सावधानि अपनाउनुपर्ने कृषि ज्ञान केन्द्रका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए ।