काठमाडौं – तीन वर्ष अगाडिसम्म वार्षिक ८ अर्ब घाटामा रहेको नेपाल विद्युत् प्राधिकरण नाफामा जान थालेको छ। गत आवमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ।
प्राधिकरण ०७२÷७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा थियो। कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्त भएपछि ७३÷७४ मै एक अर्ब ५० करोड नाफामा जान सफल भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
घिसिङ आएपछिका पछिल्ला तीन वर्षमा विद्युत् चुवाहट नियन्त्रण तथा प्रशासनिक र वित्तीय सुधारको प्रयासले प्राधिकरण नाफामा जान थालेको दाबी प्राधिकरको छ।
घिसिङ नियुक्त भएको पहिलो वर्ष घिसिङले प्राधिकरणलाई एक अब ५० करोड, दोस्रो वर्ष दुई अर्ब ९० र तेस्रो वर्ष सात अर्ब २० करोड रुपैयाँ खुद मुनाफा भएको प्राधिकरणले जनाएको छ।
घिसिङ २०७३ को भदौमा प्राधिकरण प्रमुखका रूपमा नियुक्त भएका थिए।
प्राधिकरणले आर्थिक वर्ष २०७५÷७६ मा सात अर्ब २० करोड रुपैयाँ खुद मुनाफा गरेको छ। करिब तीन अर्ब रुपैयाँको विद्युत् चुवाहट घटाउने सहितको कार्यबाट यसको नाफा अघिल्लो वर्षको तुलनामा चार अर्ब ३० करोड रुपैयाँले बढेको प्रतिवेदनमा उल्लेख छ।
बिजुली चुवाहट ५.१३ प्रतिशतले घटेको दाबी गरेको छ। २०.४५ प्रतिशतको बिजुली चुवाहटलाई घटाएर १५.३२ प्रतिशत बनाउन सफल भएको उल्लेख छ। यस्तो चुवाहट आव २०७२÷७३ सम्ममा २५.७८ प्रतिशत थियो। पछिल्लो तीन वर्षमा प्राधिकरणले चुहावटलाई १०.४६ प्रतिशतले घटाउनको पनि प्राधिकरणको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
गत आवमा ५ प्रतिशत चुवाहट घट्दा मात्रै प्राधिकरणलाई करिब तीन अर्ब रुपैयाँ नाफा भएको प्राधिकरणको दाबी छ। प्राधिकरणले नाफा बढ्नुको अन्य कारण भने उल्लेख गरेको छैन।
अघिल्लो आवमा प्राधिकरणले जम्मा दुई अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस्तो नाफा गत आवमा १४९ प्रतिशतले बढेको जानकारी दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षामान पुनले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको प्राधिकरणको वार्षिक उपलब्धीको प्रेस वक्तव्य अनुसार प्रणालीमा सात अर्ब ५५ करोड युनिट बिजुली उपलब्धता भएको छ।