साउन २५- सत्तारुढ दल नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामो सघंर्ष र बलिदानपछि पाएको उपलब्धीलाई कसैले उल्ट्याउँन नसक्ने बताएका छन् । आज शनिबार काठमाडौँमा एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषदको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । जनतामा लामो समयपछि आएको राजनीतिक र सामाजिक जागरण कसैले उल्ट्याउँन नसक्ने दाबी गरे ।
उनले परिवर्तन निरन्तर अगाडी बढिरहने र पछाडी फर्केर नहेर्ने भन्दै इतिहास पल्ट्याउँन खोज्ने र तीनका अगुवाहरुलाई फोहोरको थुप्रोमा मिल्क्याईने बताए । उनले भने “जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडी बढेको बिद«ोह र त्यसका उपलब्धीलाई कसैले पनि उल्ट्याउँन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडी बढ्छ । पछाडी धकेल्न चाहानेहरु इतिहासको रछ्यानमा मिल्क्याईने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन” ।
उनले मुलुकमा प्रतिगमनको प्रभाव पार्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पारे । उनले पुराना सोच, संरचना, मुल्य मान्यतालाई व्यवहारतः विस्थापित गरि नया सोच, मुल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतनपक्षधरहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने आवश्यकता समेत रहेको औँल्याए ।