क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको भोजमेलामा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ।
‘द गिलरोए गार्लिक फेस्टिवल’ नाम दिइएको यस मेलाको अन्तिम दिन आइतवार मेलामा सहभागी हुन आएका व्यक्तिमाथि गोली प्रहार हुँदा पन्ध्रजना घाइते भएका छन्। आक्रमणका क्रममा एक सन्दिग्ध बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। सान होसे शहरबाट ४८ किलोमिटर दक्षिणपूर्वमा रहेको गिलरोए शहरमा उक्त गोलीकाण्ड भएको थियो। एक मिनेटभन्दा पनि कम समयमा उक्त गोलीकाण्ड भएको थियो।
सान्टा क्लारा भ्याली मेडिकल सेन्टका प्रवक्ताले ६ जनालाई गोली लागेको बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार करिब ३० वर्षका गोरा व्यक्तिले अर्धस्वचालित बन्दुकबाट गोली प्रहार गरेका थिए। सशस्त्र व्यक्तिले चारै दिशामा गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
तीन दिनको यस पर्वमा लसुनका परिकार हेर्न हजारौं व्यक्ति भेला भएका थिए। लसुनबाट बन्ने विभिन्न परिकारको प्रतियोगिताको रूपमा रहेको यस मेलामा वार्षिक करिब एक लाख व्यक्तिको उपस्थिति रहँदै आएको मेला आयोजकले बताएका छन्। मेलामा लसुनबाट बन्ने विभिन्न खानेकुरा र पेयपदार्थ राखिएका थिए।
बन्दुक आक्रमणको खास कारण भने प्रष्ट हुन सकेको छैन। अमेरिकामा वर्षैपिच्छे ठुल्ठूला गोलीकाण्ड हुने गरेका छन्। अमेरिकामा हतियारको आडमा आममानिसमाथि जथाभावी गोली प्रहार हुने गरेको छ। बन्दुक हिंसाका कारण अमेरिकामा वर्षेनि ४० हजारको हाराहारीमा मानिसको मृत्यु हुने गरेको अध्ययनले देखाएका छन्।