काठमाडाैं । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई लिन सरकारले नेपाली सेनाको हेलिकोप्टर पठाएको छ । हेलिकोप्टर जुम्ला पुगिसकेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई लिन हेलिकोप्टर पठाइएको बताए । बिहीबार बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
बुधबार बेलुका प्रधानमन्त्रीसहित केही मन्त्रीहरुको बैठकले डा. केसीलाई काठमाडाैं ल्याउने निर्णय भएको थियो ।
‘उहाँको जीवन रक्षा र स्वास्थ्य रक्षाका लागि सेनाको हेलिकोप्टर पठाएका छौं,’ मन्त्री पोखरेलले भने, ‘शिक्षा मन्त्रालयको सचिव, स्वास्थ्यका सहसचिव पनि जानुभएको छ । उहाँलाई ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिन्छ । उहाँले अन्यत्र बस्ने इच्छा व्यक्त गर्नुभयो भने त्यो भावनालाई पनि ध्यान दिन्छौं ।’
डा. गोविन्द केसीले आफूलाई अपहरणको शैलीमा काठमाडाैं नलैजान सरकारलाई चेतावनी दिएका छन् ।
प्रहरीहरू अनसनस्थल जान खोजिरहेका छन् । तर केसीका पक्षधर, स्थानीयबासी र विद्यार्थीहरूले प्रहरी तथा सरकारी टोलीलाई अनसनस्थल प्रवेश गर्न दिइरहेका छैनन् । उनीहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेटसम्मै बसेर प्रहरीको प्रवेशमा अवरोध गरिरहेका हुन् ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आज आफूलाई सरकारले अपहरण शैलीमा काठमाण्डु लैजाने तयारी गरेको बताउँदै आफू कुनै पनि हालतमा माग पूरा नभएसम्म काठमाण्डु नजाने बताएका छन् ।
डा. केसीले माग पूरा गरे आफू अनशन तोड्न तयार रहेको बताएका छन् । उनले गुन्डागर्दी शैली नदेखाउन पनि राज्यलाई चेतावनी दिएका छन् ।
‘माग पूरा गर अनशन तोड्छु । यो मेरो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर मैले सत्याग्रह गरेको छु । जबसम्म माग पूरा हुँदैन म यहीँ जुम्लामा बसेर सत्याग्रह जारी राख्नेछु । मेरो नागरिक अधिकार खोस्ने कसैलाई अधिकार छैन । र गुन्डागर्दी चल्दैन । अहिलेको लडाईँ भनेको राज्य माफिया, डन र अधिनायकवाद पोस्नतिर लागेको छ । र जनताको हकविरुद्ध लागेको छ । त्यसविरुद्धको हो । हामी जनताको हक हितको लागि लडिरहेका छौं । माफिया, डन र अधिनायकवादको हार हुन्छ जनताको जित हुन्छ ।’