२०८१, ५ चैत्र बुधबार
×

ट्रेन्डिङ

विहिबारबाट देशभरका अस्पतालमा ईमरजेन्सीबाहेक सबै सेवा ठप्प

1751 Shares

काठमाडौं । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन ३ साउन विहिबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक (ईमरजेन्सी) बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ ।

चिकित्सा शिक्षा सुधारका माग सहित १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बनेको र उनको जीवनरक्षाका निम्ति सरकार गम्भीर नबनेको भन्दै संघले स्वास्थ्य संस्था ठप्प पार्ने निर्णय गरेको हो ।

संघले ३ साउनमा एक दिनका लागि देशभरका सरकारी र निजी अस्पताल, सबै शिक्षण अस्पताल, नर्सिङ होम र क्लिनिकसमेत ठप्प पार्ने निर्णय गरेको हो ।

संघले जारी गरेको विज्ञप्तिमा, ‘सरकार संवेदनशील भएन भने देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालसम्म बन्द गर्न बाध्य हुने जानकारी गराउँछौं’ भनिएको छ ।

वुधबार आयोजित पत्रकार सम्मेलनमा संघका महासचिव डा. लोचन कार्कीले देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरुको आवाज सरकारलाई सुनाएर डा. केसीको जीवनरक्षाका लागि यस्तो निर्णय लिइएको जानकारी दिए ।

चिकित्सक संघले डा. केसी आमरण अनशन बसेको १९ दिन पुगिसक्दा पनि उनको स्वास्थ्य अवस्थाप्रति सरकार गम्भीर नबनेको, डा. केसीले उठाएका मागबारे ठोस छलफल नगरेको, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारणले देशभरबाट उठाएको शान्तिपूर्ण आवाजलाई बेवास्ता गरेको लगायतका कारणले आन्दोलन गर्नु परेको तर्क गरेको छ । उता, राष्ट्रिय चिकित्सक संघ नेपालले स्वास्थ्य संस्था बन्द नगरी वार्ताबाट समाधान खोज्न आग्रह गरेको छ ।

प्रतिक्रिया