प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनु भएको छ । सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोहो¥याउनु भयो ।
बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नु भयो । सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गर्नु भयो ।
त्यस अवसरमा सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गर्नु भएको थियो ।नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले विपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनु भयो । उहाँले विपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि विपी कोइरालाले नेपालको राजनीतिक तथा साहित्यिक क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गराउनु भएको थियो ।