असार २८ -अमेरिका इरान सम्बन्धको कारण पछिल्लो समय खाडी क्षेत्रबाट आउँने तेल ट्यांकरहरुमाथि असुरक्षा बढिरहेको छ । साउदी , जापान र दुबई जस्ता देशहरुको तेल ट्यांकरमाथि आक्रमण भएपछि यसले थप चिन्ता बढाएको थियो । यसबीच खाडी क्षेत्रमा बेलायतको ध्वजा बाहक पानीजहाजलाई बाधा पु¥याउँने कोशिस गरिएको छ । इरानको ३ वटा पानीजहाजले खाडी क्षेत्रमा बेलायतको पानीजहाजलाई बाटो छेक्न खोजेको खबर सार्वजनिक भएपछि बेलायतले आफना पानीजहाजलाई कडा निर्देशन दिएको छ ।
बेलायतले खाडी क्षेत्रमा आउँदा सावधानी अपनाउँन र तीव्र गतिमा अघि बढ्न निर्देशन दिएको हो । इरानले आफनो पानीजहाजलाई रोक्ने प्रयास गरेको भन्दै बेलायतले गम्भीर आपत्ति समेत जनाएको छ । बेलायती सरकारका प्रवक्ताले इरानको यस्तो व्यवहार कानुन सम्भवत नभएको प्रतिक्रिया दिएका छन् । त्यस्तै बेलायतका प्रधानमन्त्रीका सल्लाहाकारले समेत इरानले आफनो तेल बोकेको पानीजहाजलाई रोक्ने प्रयास गरेको भन्दै उक्त क्षेत्रमा भईरहेको तनाव कम गर्न समेत आग्रह गरेका छन् । यता इरानको रेभोल्युसनरी गार्डले भने सो घटनामा आफनो संलग्नता नरहेको बताएको छ ।

तर इरानले गत सातामात्रै जिब्राल्टरनजिकै आफनो ट्यांकर कब्जा गरिएको भन्दै बदला लिने धम्की दिएको थियो । उक्त घटना लगत्तै इरानको सैन्य निकायका एक सहायक कमाण्डरले इरानी ट्यांकर कब्जामा लिएको बिषयमा अमेरिका र बेलायतले पछुतो मान्नु पर्ने अवस्था आउँने चेतावनी दिएका थिए । यता अमेरिकाले भने समुद्री क क्षेत्रमा अन्तराष्ट्रिय पानीजहाज स्वतन्त्ररुपमा आवतजावत गर्न पाउँने नियम रहेको भन्दै कुनै समस्याच उत्पन्न भए अन्तराष्ट्रियरुपमा नै समाधान खोज्नु पर्ने प्रतिक्रिया दिएको छ । एजेन्सीको सहयोगमा