२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सावधान : वनको च्याउमा विष हुन सक्छ

1696 Shares
Spread the love

नारायण अधिकारी

चितवन। मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ। भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ। यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिए। अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना बिरामी छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ।

वर्षा शुरु भएसँगै जङ्गलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रूपमा प्रयोग गर्दा विषाक्त भई कतिपयको ज्यानै जाने पौडेलले बताए। अस्पतालको सघन उपचार कक्षमा यस्ता बिरामी लामो समय राख्नुपर्ने बाध्यता हुन्छ।

अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी सबै च्याउ सामान्य नभएर विषालु हुने बताउनुहुन्छ । विशेषगरी वनको च्याउ बढी विषालु हुने र तिनमा विष देखिने गर्दछन्। त्यस्ता च्याउमा हरेक वर्ष हरेक समय फरक फरक विष देखिने गरेको अधिकारीको भनाइ छ। च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन बढी विषालु हो र होइन भनेर मानिसलाई छुट्याउन कठिन हुने उनले बताए।

जानकारीको अभावमा कुन च्याउ विषाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको छ । अधिकारीले भने, “यिनीहरुमा पहिलेनै तयारी विष हुन्छ, ती कीटाणु होइनन्।” यिनीहरुले सोझै शरीरको कलेजो, मिर्गाैला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गाैलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुनेजस्ता लक्षण देखिने उनको भनाइ छ।

विषालु च्याउ खाएर अस्पताल आउने बिरामीमा विषलाई सिधै कम (न्यूट्रलाइज) गर्ने पदार्थ नहुने हुनाले उनीहरुलाई सहयोग गरेर जुन अङ्गमा असर छ त्यसलाई औषधि प्रयोग गरी जोगाउनुपर्ने उनी बताउँछन्। विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरीरका कुन अङ्गलाई असर गरेको छ त्यही अङ्गको उपचार गर्नुपर्ने उनको भनाइ छ।

अधिकारीले समाजमा यस्ता खालका च्याउहरु पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन सुझाव दिए। च्याउलाई उमाल्दैमा विष नजाने उनको भनाइ छ। पहिले हल्का हल्का विष लाग्यो भने अरु केहीले होला भन्ने सोचेर पुनः च्याउ खाने प्रचलन रहेको भन्दै यस्तो गर्न नहुने उनको सुझाव छ।

अधिकारीले एउटै ढुसीमा पछि पनि विष कडा खालको बन्ने गरेको बताउनुभयो । वनको च्याउ नचिनी नखान र थाहा नपाई खाइहालेमा तत्काल अस्पताल पुग्नुपर्ने अधिकारी बताउँछन्। उनका अनुसार च्याउ खाएको छ घण्टाभित्रमा अस्पताल आएमा ९० प्रतिशत बच्छन् भने दुई दिनपछि आउँदा ४० प्रतिशतलाई मात्र बचाउन सक्ने अधिकारीको भनाइ छ।

जिल्लाको ग्रामीण क्षेत्र रहेको इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङले च्याउ खाएर बिरामी पर्ने अधिकांश ग्रामीण तथा दुर्गम भेगका हुने गरेको बताए। आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायतका वनका कन्दमूल खान बाध्य हुने अवस्था रहेको छ। गुरुङले च्याउ किनेर मात्र खान अनुरोध गरिएको जानकारी दिए। उनले भुईंच्याउ खानै नहुने बताए। रासस

प्रतिक्रिया