एजेन्सी । भारतको हिमाचल प्रदेशको कुल्लूमा भएको बस दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बिहीबार साँझ भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

बसमा ६० जना सवार भएको भारतीय प्रहरीले बताएका छन् । बस सडक भन्दा झण्डै ५०० फीट गहिरो खोल्सामा खसेको छ । साँघुरो र पहाडी सडकखण्ड भएकाले ठूलो दुर्घटना भएको हो । कुल्लूको बान्जार नजिकै दुर्घटना भएको भारतीय प्रहरीले बताएका छन् । दुर्घटनाको खबर पाउँने वित्तिकै उद्धारका लागि प्रहरी त्यसतर्फ लागेको छ । स्थानीय र प्रशासनको सहयोगमा उद्धार कार्य भइरहेको छ ।
कुल्लूका एसपी शालिनी अग्निहोत्रीले बसमा ६० जना यात्रु भएको कुरा पुष्टि गरेका छन् । उनका अनुसार अहिलेसम्म १५ जनाको शव निकालिएको छ । बस गुडेपछि कल्लू बान्जार क्षेत्र देखि १ किलोमीटर अगाडी भियोठ मोड़ नजिकैबाट दुर्घटनामा परेको थियो । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भिर छ । घाइतेहरुको उपचारका लागि उचित प्रवन्ध गर्न लागिएको प्रहरीले बताएको छ ।

मृतकहरुको सनाखत हुन सकेको छैन । हिमाचल नेपालीहरुको बाहुल्यता भएको क्षेत्र भएकाले नेपालीहरु पनि परेको हुनसक्ने आशंका गरिएको छ । हिमाचलमा नेपालीहरु काम गर्नको लागि धेरै जाने गर्दछन् । त्यस्तै यस राज्यमा नेपालीहरुले व्यापार व्यवसाय पनि गर्दै आएका छन् । बसमा क्षमता भन्दा धेरै यात्रु राखेको खुल्न आएको छ । उक्त बसमा जम्मा ४८ सिट रहेकोमा ६० जनालाई लिएर गइरहेको थियो ।