असार ४ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारलाई जनताले दिएको दुई तिहाईको मत “बाँदरको हातमा नरिवल” जस्तै भएको बताउनु भएको छ । आज बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनु भएको हो । उहाँले ओली सरकार सर्वसत्तावादतर्फ उन्मुख भईरहेको आरोप लगाउँदै सरकारले हरेक क्षेत्रमा कब्जा गर्न खोजेको बताउनु भयो । सरकारले राज्यको स्रोत र शक्ति कब्जा गरेर अघि बढने अनकन्टक लक्ष्य लिएको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार र दिशाहिन बन्न पुगेको बताउनु भयो ।
साथै उहाँले प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि पटकपटक बेइमानी गरेको कारण आफनो पार्टीलाई नै जनताले वैकल्पिक शक्तिको रुपमा लिएको दाबी गर्नुभयो । कांग्रेस र कम्युनिष्ट नेतृत्वको सरकारले जनतालाई पटक–पटक धोका दिएको कारण नै अहिले आफनो पार्टीप्रति जनताको आसार र भरोसा बढेको बताउनु भयो । जनतामा आफनो पार्टीप्रति भरोसा र आसा बढेको कारण नै अर्काे चुनावमा आफनो पार्टी देशको भरपर्दो राजनीतिक शक्तिको रुपमा स्थापित हुने पनि दाबी गर्नुभयो ।