नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पहिलो चरणको जागरण अभियानमा सरकारप्रति जनताको विकर्षण र कांग्रेसप्रति आकर्षण बढेको पाइएको जनाएका छन्। सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरू जनतालाई निराश बनाएको उनले बताए।
‘वर्तमान सरकारका अधिनायकवाद उन्मुख गतिविधिहरूले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ,’ कांग्रेस प्रवक्ता शर्माले पहिलो चरणको जागरण अिभयान सकिएको अवसरमा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ।’
आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको उनले दाबी गरे। अभियान क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट नेपाली कांग्रेसमा देशभरिका कार्यक्रम मार्फत ३१ हजार ६ सय ४२ ले प्रवेश गरेको तथ्याङ्कसमेत उनले प्रस्तुत गरे।
जागरण अभियान अन्तर्गत एक महिनाको अवधिमा दूई हजार भन्दा बढि कार्यक्रम आयोजना भएको उनले जानकारी दिए। कार्यक्रममा जनताको व्यापक जनसहभागिता रहेको दाबीसमेत उनले गरे ।
‘जागरण अभियानको प्रथम चरणको प्रारम्भ राष्ट्रव्यापी रुपमा एक साथ भएको थियो। एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रम समेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएका छन्,’ कांग्रेस प्रवक्ता शर्माले भने।
‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाराका साथ कांग्रेसले प्रथम चरण्को जागरण अभियान वैशाख २५ गतेबाट प्रारम्भ गरेको थियो। पहिलो चरणको अभियान जेठ २५ मा सम्पन्न भएको थियो। प्रथम चरणको अभियानबाट ऊर्जा र उपलब्धी प्राप्त भएको उनले जनाए।
अभियान क्रममा बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, र्याली, विचार–वहस लगायतका कार्यक्रम गरिएको थियो। शर्माले भने, ‘कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका साथीहरु, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रह्यो।’
अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गरेको उनले जानकारी दिए। ‘हिमाल, पहाड, तराई-मधेश’ नामसँगैको अभियानले भावनात्मक ऐक्यवद्धता कायम गर्न मद्दत पुगेको उनले बताए।