एजेन्सी – भारतीय वायु सेनाको बेपत्ता एएन-३२ जहाज चीन सीमावर्ती क्षेत्रमा फेला परेको छ । तर जहाजमा सवार १३ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । दुर्घटना भएको अवस्थामा फेला परेको जहाजमा सवारको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
जुन ३ तारेखमा अरुणाञ्चल प्रदेशबाट बेपत्ता भएको जहाज १२ हजार फिटको अनुमानित उचाइमा रहेको टेटो नजिक फेला परेको भारतीय वायु सेनाले जनाएको छ । भारतीय सेनाले अहिले दुर्घटनास्थलमा जाने प्रयास भइरहेको र ब्ल्याक बक्स र सिभिआरको खोजी हुने जनाएको छ । जहाजको खोजीमा पुगेको एमआई-१७ हेलिकप्टरले दुर्घटनामा परेको जहाज फेला परेको हो ।
चिता एएलएच हेलिकप्टरमा गरुड कमाण्डरसहितको टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ । जुन ३ मा असमबाट चीनको सीमा नजिक पर्ने मेचुका तर्फ उडेको जहाज बेपत्ता भएको थियो । त्यस लगत्तै भारतीय सेनाले आफूसँग भएका सबै प्रकारका प्रविधि र उपकरणको सहायतामा बेपत्ता जहाज खोजी थालेको थियो ।