विराटनगर । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि खुलाएको विज्ञापन संविधानसम्मत भएको दाबी गर्नुभएको छ ।
पोखरेलले प्रदेश लोकसेवा आयोग गठन नभएसम्म लोकसेवा आयोगले नै स्थानीय तहको कर्मचारी नियुक्ति गर्ने संविधानमा व्यवस्था गरिएको उल्लेख गर्दै सो विधेयक फिर्ता गराउन सरकारले लोकसेवा आयोगमाथि अनुचित हस्तक्षेप गर्न नमिल्ने प्रष्टीकरण दिए ।
सोमबार विराटनगर विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री पोखरेलले लोकसेवा आयोग संवैधानिक अंग भएको र उसले संविधानसम्मत ढंगले अघि बढाएको प्रक्रियामाथि कार्यपालिकाले अनुचित हस्तक्षेप गर्न नमिल्ने दाबी गरे ।
सोमबार बसेको संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले लोकसेवा आयोगले खुलाएको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको निष्कर्ष निकाल्दै तत्काल रद्द गर्न सरकार र लोक आयोगलाई निर्देशन दिएको थियो । तर, कार्यवाहक प्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्थाअनुसार लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी भर्ना प्रक्रिया अघि बढाएकाले त्यसलाई कार्यपालिका, न्यायपालिका, विधायक सबै निकायले पालना गर्न जरुरी रहेको जिकिर गरे ।