जेठ २३- नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समय अगाडी विप्लवको टार्गेटमा सबैभन्दा अगाडी आफु रहेको भन्ने खुलासा गरेपछि उनको यस भनाईले खुबै सनसनी नै मच्चिएको थियो । विप्लवबाट आफुलाई असुरक्षा रहेको भन्ने सरकारबाट नै जानकारी पाएको प्रचण्डले बताएसंगै उनको सुरक्षादस्ता बढाईएको थियो । उनलाई सुरक्षा थ्रेड रहेको भन्दै गृहमन्त्रालयले ५९ जना खटाएको थियो । यसबीच प्रचण्डको निजी सुरक्षा अधिकृत (पीएसओ) फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई प्रचण्डको पीएसओको रुपमा खटाईएको छ ।
प्रचण्डको सुरक्षामा नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा २९ र सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा ३० जना गरी ५९ जना खटिएका छन् । यसअघि प्रचण्डको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा भएका छन् । ‘१० वर्षे सशस्त्र युद्धपछि शान्तिप्रक्रियामा आएका नेताहरुलाई सुरक्षा थ्रेट हुन्छ भन्दै प्रचण्डसहित पूर्व एमाओवादीका उच्च नेताहरूको सुरक्षामा कडा व्यवस्था गरेको थियो ।