रौतहट – मुस्लीम भएर मुस्लीमको पर्व मनाउन चन्दा नदिएको भन्दै रौतहटको राजपुर नगरपालिकाका मेयर कुटिएका छन् ।मेयर शेख सकिललाई मंगलबार राति राजपुरको महम्मुदिया मस्जिदमा कुटपिट भएको स्थानीयले बताए ।
इदमा कार्यक्रम गर्नका लागि स्थानीयले मेयरसँग चन्दा सहयोग माग गरेका थिए । इदको अघिल्लो दिन मंगलबारसम्म पनि मेयरले सहयोग रकम नदिएपछि आक्रोशित बनेका शेख कासिमलगायतका व्यक्तिहरुले आक्रमण गरेको मेयर सकिलले जानकारी दिए ।
मस्जिदमा नमाज पढ्न गएको बेला स्थानीयले आर्थिक सहयोग मागेको उल्लेख गर्दै उनले भने, ‘तत्काल खल्तीमा पैसा छैन, भोली दिन्छु भन्दा कुटपिट गरे ।’
केही व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए । टाउकोमा चोट लागेका उनी उपचारपछि घर फर्किएका छन् ।
मेयरमाथि हातपात भएको प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले पुष्टि गरे । टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।
मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार छन् । आक्रमण गर्नेहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको कार्कीले बताए ।