काठमाडौ – नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौडा(भरतपुर खण्डको ठेक्का तोडेको छ । कामको प्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँगको ठेक्का केही दिनअघि तोडेको हो ।
कम्पनीले कार्यसम्पादन जमानतबापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरेबापत झण्डै १६ लाख डलर विलम्ब जरिबाना तिराउने पनि लगाउने निर्णय गरेको छ । प्राधिकरणले यसअघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँगको ठेक्का तोडेको थियो ।
प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालासूचीमा राख्ने निर्णय गरिसकेको छ । ठेक्का तोडेपछि कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैंकका नेपाल कार्यालयका प्रबन्धक फारिस हढाढ जर्भोससहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् ।
कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिए । ‘साइटमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक–पटक निर्देशन दियौँ, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, हामीले गरेको पत्रचारको कुनै जवाफ नदिनेलगायतका क्रियाकलाप गरी सम्झौता उल्लघंन गर्यो, कम्पनीको काम सुरुबाटै सन्तोषजनक थिएन, त्यसैले ठेक्का तोडिएको हो’, घिसिङले भने, ‘नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा छ, छिट्टै टेण्डर आह्वान गर्छौँ ।’
प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ ।