२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कांग्रेसका दुई दर्जन केन्द्रीय नेताहरू परिवारसहित डेनमार्क जाँदै

1475 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसको जागरण अभियानमा नेतृत्वबीच विभिन्न आशंका र आरोप प्रत्यारोप तथा मतभेद चलिरहेका बेला उपसभापति विमलेन्द्र निधि पत्नी र छोराछोरीसहित प्रवासमा हुन लागेको कार्यक्रममा सहभागी हुन जान लागेको खलासा भएको छ ।

नेपाली जनसम्पर्क समितिले डेनमार्कको कोपनहेगनमा गर्न लागेको प्रशिक्षण कार्यक्रममा निधिसहित २५ केन्द्रीय नेताहरू जान लागेको तथ्य लिक भएको छ ।

असार ६ देखि ८ गतेसम्म हुने ३२ वटै देशमा रहेका समितिका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यसहितका कार्यकर्तालाई दिन लागेको प्रशिक्षण कार्यक्रममा नेपालबाट नेपाली कांग्रेसका उपसभापति निधिले आफ्नो पूरै परिवारलाई लिएर जान लागेका हुन् ।

विदेशमा हुन लागेको कार्यक्रममा कांग्रेस नेताहरू परिवारसहित जान लागेपछि यसले खर्च बढाउनेछ । विदेशमा कार्यक्रमको व्यवस्थापन गर्न गाह्रो हुनेभन्दै कांग्रेसभित्रैबाट विरोध शुरू भएको छ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं उपसभापति निधिसहितका पदाधिकारी, केन्द्रीय नेता, प्रतिष्ठानका सदस्यसहितका नेता डेनमार्क जान लागेको स्रोतले जनाएको छ ।

प्रशिक्षणका लागि जान लागेका नेताहरूको भिसा आवेदन दिइसकिएको छ । श्रीमती र दुई छोरासहित जाँदै उपसभापति निधि डेनमार्क जान लागेका हुन् ।

पूरै कार्यक्रमको संयोजन डेनमार्कस्थित जनसम्पर्क समितिमा सभापति वीरेन्द्रसिंह कार्कीले गरेका छन् ।

कांग्रेसका उपसभापति निधि र महामन्त्री डा.शशांक कोइराला मात्रै गए पुग्ने कार्यक्रममा दुई दर्जन केन्द्रीय नेताहरू परिवारसहित डेनमार्क जान लागेको घटनाले कांग्रेस पार्टी आलोचित बनेको छ ।

डेनमार्क जाने सूचीमा उपसभापति विमलेन्द्र निधिका साथै दुई छोरा र श्रीमती रहेका छन् ।

सूचीमा महामन्त्री डा.शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू डा.रामशरण महत, डा.मीनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, गगन थापा, भीष्मराज आङदेम्बे, दीपक गिरी, धनराज गुरुङ, अर्जुनप्रसाद जोशी, गोविन्द्र भट्टराई, आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेल, डा.आरजु राणा, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहाल, राजु नेपाल, कान्ता रिजाल, नानुमैंया बास्तोला, प्रतिमा गौतम, प्रकाश शर्मा (सचिव, केन्द्रीय कार्यालय) र मुक्ति आचार्य (सचिव, केन्द्रीय कार्यालय) रहेका छन् ।

प्रतिक्रिया