तस्वीर : एएनआई ट्वीटर
काठमाडौं । भाजाप नेता नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि बिहीबार प्रधानमन्त्री पदको शपथ लिएका छन् । बिमस्टेक राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख लगायत करिब ८ हजार पाहुनालाई निम्त्याइएको विशेष समारोहका बीच राष्ट्रपति रामनाथ कोविदले मोदीलाई शपथ ग्रहण गराएका हुन् ।
मोदी पहिलो पटक २०१४ मा प्रधानमन्त्री बनेका थिए । उनली जवाहरलाल नेहरुपछि लगाता दोस्रो कार्यकाल बहुमतको सरकार बनाउने दोस्रो प्रधानमन्त्री बनेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचनमा भाजपाले ३०३ सिटमा जित हात पारेको थियो भने उसको गठबन्धन एनडीएले ३५२ सिटमा जित हात पारेको थियो ।
मोदीले शपथ लिएसँगै मन्त्रिपरिषद् पनि विस्तार गरेका छन् । पहिलो पटक अध्यक्ष बनेका भाजपा अध्यक्ष अमित शाहसमेत मन्त्री बनेका छन् । अघिल्लो सरकारमा रहेका अरुण जेट्ली र सुषमा स्वराज मन्त्री नबन्ने भएका छन् । दुबैजना स्वास्थ्य समस्याका कारण मन्त्री नबन्ने भएका हुन् ।
यस्तै नेपालको संविधान जारी हुँदा मोदीको विशेष दुत बनेका तत्कालीन विदेश मन्त्रालयका सचिब एस जयशंकरसमेत मन्त्री बनेका छन् ।
मोदीलाई मन्त्रिपरिषद् गठनकै दिनमा एनडीए गठबन्धनमा भने फुट आएको छ । गठबन्धनको मुख्य सहयोगी दल नितिस कुमारको दल जनता दलले सरकारमा नजाने निर्णय गरेको छ । सो दलबाट एकजना मन्त्री बनाउने मोदीको तयारी थियो । तर, मोदी र नितिस कुमारबीच सहमति नजुटेपछि जनता दल एनडीएबाटै बाहिरिने तयारीमा रहेको बताइएको छ ।
उता ५२ सिटमात्र जितेर संसदमा नेता प्रतिपक्षको बन्ने हैसियत नपाएको काँग्रेस आई र ५ सिट जितेको राष्ट्रवादी काँग्रेसबीच एकीकरणको चर्चा चलेको छ । यी दुई पार्टीबीच एकीकरण भए काँग्रेस आईका अध्यक्ष राहुल गान्धी संसदमा प्रमुख प्रतिपक्षी दलको नेता बन्ने छन् ।
मोदीको शपथ ग्रहणमा नेपालका प्रधानमन्त्री केपी ओली पनि दिल्ली पुगेका छन् ।