२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी” :- प्रचण्ड

2071 Shares
Spread the love

जेठ १५ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताएका छन् ।१२ औँ गणतन्त्र दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले नेपाली जनताले समाजवादको आधार तयार पार्ने ऐतिहासिक दायित्व कम्युनिष्ट क्रान्तिकारीको काँधमा सुम्पिएकाले बामपन्थी सरकार र नेपाल कम्युनिष्ट पार्टीमार्फत् समृद्धि र समानतासहित समाजवादको आधार तयार पार्नु जिम्मेवारी हुन आएको बताए । उनले इतिहासले सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारीलाई बहन गर्नु अवसर र चुनौती दुवै रहेको उल्लेख गरे ।

उनले २१ औँ शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई अपिलसमेत गरे । ‘राजनीतिक परिवर्तनलाई जनताको जीवन बदल्ने शासन पद्धतिका रुपमा स्थापित गर्दै समाजवादको आधार निर्माण गर्ने अभियानमा हातेमालो गर्न सम्पूर्ण नेपालीमा अपिल गर्दछु’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

अध्यक्ष प्रचण्डले मुलुकमा विद्यमान सामन्ती, निरङ्कुश तथा एकात्मक सत्ताको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन भएको उल्लेख गर्दै जनताको वीरतापूर्ण सङ्घर्षकै बलमा मुलुकमा प्रगतिशील, गतिशील एवं समाजवादउन्मूख संविधान निर्माण भएको बताए ।

संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धी व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त गरेको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । शुभकामना सन्देशमा उनले गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि, बेपत्ताप्रति उच्च सम्मान र सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । रासस

प्रतिक्रिया