काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् ।
प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै उनले त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे । गणतन्त्र दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले लोकतन्त्रका लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने दाबी गरे ।
‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ देउवाले भने, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’
सभापति देउवाले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाइ गरेको जिकिर समेत गरे । उनले धेरै ठूलो लडाइ, त्याग र तपस्याको प्रतिफल प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।