२०८३, १० कार्तिक सोमबार
×

गुफाभित्र रातभरि ध्यान बसेका मोदीविरूद्ध उजुरी

789 Shares

एजेन्सी  – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन आचार संहिताको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ। प्रतिपक्षी दल कंग्रेस आईका सांसद प्रदीप भट्टाचार्यले मौन अवधिमा मोदीको केदारनाथ र बद्रीनाथ भ्रमणको मिडिया कभरेजले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी हालेका छन्।

‘केदारनाथ भ्रमणबारे जसरी मोदीले मिडिया कभरेज गराए त्यो अरू केही होइन आचारसंहिताको उल्लंघन हो। सबै मिडियामा उनको भ्रमण छाएको छ। मतदानको अघिल्लो दिन यस्तो गर्नु के मतदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने तरिका होइन,’ भट्टाचार्यले भने,‘उनको भ्रमणका हरेक क्षणका कुरा लाइभ प्रसारण भएका छन्। यसमा मतदातालाई प्रभाव पार्ने कुत्सित मनसाय छ, जुन गलत हो।’

तृणमूल कंग्रेस पार्टीले पनि मोदीले आइतबार बिहान केदारनाथमा मिडियालाई गरेको सम्बोधनले आचारसंहिता उल्लंघन भएको भन्दै आयोगमा उजुरी गरेको छ।

यसअघि मोदीले आइतबार केदारनाथमा आफूलाई केदारनाथ भ्रमण गर्न अनुमति दिएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए। शनिबार राति केदारनाथको गुफामा बिताएका मोदी आइतबार बिहान बद्रीनाथ पुगेका छन्।

गत अप्रिल ११ देखि सुरू भएको भारतीय लोक सभा चुनावको अन्तिम चरणको मतदान आइतबार हुँदैछ। जसमध्ये मोदी उम्मेद्वार रहेको उत्तरप्रदेशको वनारस पनि एक क्षेत्र हो।

मोदीको भारतीय जनता पार्टी हिन्दूत्वको नारा लिएर राजनीति गरिरहेको छ। गुजरातका मोदी आफैं पनि हिन्दूहरूको धार्मिक तिर्थस्थल उत्तर प्रदेशको बनारसबाट चुनाव लडेका छन्। तिनै हिन्दू मतदाताको ध्यान तान्न मोदी शनिबार हिन्दुहरूका चार धाममध्येको एक केदारनाथ पुगे। उनले केदारनाथमा प्रधानमन्त्रीको रूपमा त्यहाँ भइरहेको पुनर्निर्माणको निरीक्षण गरे अनि केहीबेरमा प्रधानमन्त्रीबाट तपस्यी बने। पहेँलो सल ओढेर उनी ध्यान गर्ने भन्दै ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र पसे।

प्रायस् ध्यान एकान्तमा गरिन्छ र बाँकी भौतिक दुनियाँबाट आफूलाई विच्छेद गर्ने प्रयत्न गरिन्छ। तर मोदीको ध्यान भने फरक थियो। उनी गुफाभित्र पस्नासाथ ध्यान गरिरहेको तस्बिर सञ्चारमाध्यममा छाइसकेको थियो। त्यसपछि उनको ध्यान समाचारको शीर्षक र सामाजिक सञ्जालमा चर्चापरिचर्चाको विषय बन्यो। उनको यो शैलीलाई कतिपयले हिन्दू मतदातालाई प्रभाव पार्न गरिएको प्रचारको एक हिस्सा ठानेका छन्।

मोदी कुनै सामान्य गुफामा ध्यान बसेका होइनन्। समाचारपत्र टाइम्स अफ इन्डियाका अनुसार उक्त गुफामा ध्यान गर्ने मोदी पहिलो व्यक्ति हुन्। मोदीको ध्यानका लागि गुफामा व्यापक प्रबन्ध गरिएको थियो। सिसिटिभी जडान गरिएको थियो। उक्त सिसिटिभीका दृश्यलाई बाहिर बसेका सुरक्षाकर्मी निरन्तर अवलोकन गरेका थिए।

गुफाभित्र ओछ्यानसहितको एउटा कोठाको व्यवस्था छ। सोही कोठामा अट्याच बाथरूम पनि छ। सँगै ध्यान गर्न खाली जमिन छ भने कोठाको झ्यालबाट बाहिरको सुन्दर दृश्य देखिन्छ।

मोदीले गुफाभित्र रातभरि ध्यानमात्र गरे कि निदाए भन्ने खुलाइएको छैन।

‘म भगवानसँग कहिले पनि केही माग्दिनँ, म यहाँ शान्ति, प्रार्थना र ध्यानका लागि आएको हुँ,’ आइतबार बिहान मोदीले सञ्चारकर्मीसँग भने।

प्रतिक्रिया