२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

‘काँग्रेस नेताहरु सुध्रिए आफै जागरण आउँछ’ : शेखर कोइरालाको

2027 Shares
Spread the love

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसका नेता सुध्रिए पार्टीमा स्वतः जागरण आउने बताएका छन् । नेपाली कांग्रेस चितवन–काठमाडौं सम्पर्क समितिले जागरण अभियानको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले जागरण अभियानका दौरान नेताले गुटबन्दी नगर्ने प्रण लिनुपर्ने बताए ।

‘माथि नेताहरु गुट आधारमा लडिरहने, आफ्नो स्वार्थका लागि दौडिरहने हो भने कार्यकर्ता मात्रै गतिलो भएर पार्टी बन्दैन । कांग्रेसमा कार्यकर्ता गतिला छन्, अब नेता पनि सुध्रेर गतिलो हुनुपर्यो’, कोइरालाले भने । उनले कांग्रेसको कमजोरी कांग्रेस नै हुने अवस्थाको अन्त्य गरेमात्रै जागरण अभियान सार्थक हुने बताए ।

फरसक प्रसंगमा नेता कोइरालाले वर्तमान सरकारले प्रेस स्वतन्त्रता र मानव अधिकारको धज्जी उडाएको भन्दै  सरकारको कदमविरुद्ध आन्दोलन गर्न कार्यकर्तालाई नेतृत्वले प्रेरित गर्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जागरण अभियान कांग्रेसको आन्तरिक एकता मजबुद पार्नका लागि भएको भन्दै एकताबिना कम्युनिष्टसंगको प्रतिस्पर्धा सहज नहुने बताए । ‘दुई तिहाईको सरकारमा रहेका कम्युनिष्टसंग विभाजित मानसिकताले लड्न सकिन्न । कांग्रेसभित्र एकता भयो भने संसारका कम्युनिष्ट मिलेपनि हामी जित्छौं’, पौडेलले भने । उनले सरकारका लोकतन्त्र विरोधी कदमबाट जनता हैरान भएको भन्दै कांग्रेसले गाउँगाउँमा पुगेर जनताको हौसला बढाउनेगरी काम गर्नुपर्ने बताए ।

कांग्रेस नेता एवं पूर्वमन्त्री सुरेन्द्र चौधरीले जागरण अभियानले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे । उनले अघिल्लो निर्वाचनमा कम्युनिष्टले जनतालाई भ्रममा पारेपनि अब कम्युनष्टि शासन देखेपछि जनताले अभिमत बदल्ने बताए ।

नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कांग्रेसको विश्वविद्यालय सानेपास्थित केन्द्रीय कार्यालय रहेको भन्दै नेताहरुले घरघरमा गुटको कलेज चलाउन आवश्यक नरहेको बताए । चितवन कांग्रेसका सचिव उत्तम जोशीले पार्टी नेतृत्वले जिल्ला नेतृत्वलाई समुचित जिम्मेवारी दिए पार्टीको सक्रियता बढ्ने बताए ।

कांग्रेसका युवा नेता दिनेश कोइरालाले नेताहरुको दौडाहाले मात्रे पार्टी नसुध्रिने भन्दै अर्थपूर्ण लक्ष्यका लागि कार्यकर्ता परिचालित हुनुपर्ने बताए । सो क्रममा नेपाली कांग्रेस चितवनले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया