सिन्धुली, नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी आइपुगेका छन्। प्रचण्ड शुक्रवार साँझ परिवारसँगै सिन्धुलीको सुनकोशी गाउँपालिकाको मूलकोट आइपुगेका हुन्।
प्रचण्ड श्रीमती सीता दाहाल, कान्छी छोरी गंगा र नातिनीसहित सुनकोशी नदीमा डुंगामा जलयात्रा गर्दै मूलकोट आइपुगेको सुनकोशी गाउपालिका उपाध्यक्ष दिर्वसिंह मोक्तानले बताए। सुनकोशी गाउँपालिकाको दुम्जास्थित कुशेश्वर महादेव मन्दिर छेउबाट सुरु भएको जलयात्रामा सीता, गंगा र नेता हरिबोल गजुरेल लगायत सहभागी थिए।
मुलकोटमा रहेको होटल ताज रिसोर्टले कुशेश्वर महादेव मन्दिर छेउबाट मुल्कोट सम्म जलयात्रा सेवा सञ्चालन गरेको छ। अध्यक्ष दाहाल उक्त रिसोर्टले सञ्चालन गरेको डुंगामा सवार हुँदै मुलकोट आइपुगेका हुन्। अध्यक्ष दाहाल शुक्रबार मदन आश्रित स्मृति दिवसमा सहभागी भई साँझ साढे पाँच बजे सुनकोशीमा जलयात्रा गर्दै मुल्कोट आइपुगेका हुन्।

अध्यक्ष दाहाललाई नेकपा सिन्धुलीका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजन दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल लगायत नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन्। शनिबार काठमाडौं फर्किने बेला बिहान सुनकोशी गाउँपालिकामा गरिएको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्थानीय कार्यकर्तालाई भेटेका छन्।
अध्यक्ष दाहाल परिवार सहित विश्रामका लागि मुल्कोट आएका बताइएको छ। बीपी राजमार्ग सञ्चालनसँगै सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका ५ स्थित मूल्कोट बजार पर्यटकीय क्षेत्रका साथै होटल हवको रूपमा विकास भएको छ।