लण्डन । बेलायती प्रधानमन्त्री टेरिजा मे तथा उनको कन्जर्भेटिभ दलका वरिष्ठ नेताहरूबीच भएको बैठकपश्चात् ब्रेक्जिटसम्बन्धी अर्को संसदीय मतदानलगत्तै उनको बहिर्गमनको तालिकामा छलफल गरिने सहमति भएको छ । बेलायतले युरोपेली युनियन छाड्ने ब्रेक्जिटबारेको अर्को संसदीय मतदान जुन महिनाको पहिलो सातामा हुने बताइएको छ ।
बेलायती समाचार संस्था बीबीसीका अनसार यदि यसअघि तीन पटक अस्वीकृत भइसकेको उनको ब्रेक्जिट योजनालाई संसद्ले फेरि अस्वीकृत गरे उनले राजीनामा दिनेछिन् । साथै यदि उक्त योजना पारित नै भए पनि उनले जुलाई अन्तिमतिर गर्मी याममा हुने संसद् स्थगन हुनुअघि राजीनामा दिने अनुमान गरिएको छ ।
प्रधानमन्त्री मे हटेपछि उक्त पदका लागि बोरिस जन्सनले आफूले दाबेदारी प्रस्तुत गर्ने बताएका छन् । गत वर्षको अन्त्यमा अविश्वासको प्रस्तावमा आफ्नो दलका सांसदहरूले जोगाएको मेलाई विद्यमान नियामानुसार आगामी डिसेम्बर अगावै पुनः त्यसरी चुनौती दिन सकिँदैन । ब्रेक्जिटको गतिरोध तथा इङ्ग्ल्यान्डमा भएका पछिल्ला स्थानीय चुनावहरूमा उनको दलको खराब प्रदर्शनका माझ मेलाई राजीनामा गर्न दबाव बढेको छ । बीबीसीकी राजनीतिक सम्पादक लरा क्युन्सबर्ग भन्छिन्, ‘वरिष्ठ सूत्रहरूले सुनाएअनुसार चौथो पटक मेको योजना विफल भए उनी पदमा रहिरहने विषय ’अकल्पनीय’ हुनेछ ।’ उनले अहिलेको अवस्थामा गरिएको प्रक्षेपणअनुसार उक्त योजना पुनः अस्वीकृत हुने अनुमान रहेको बताइन् ।
टेरिजा मेले सरकारबाट हट्ने घोषणा गरेपछि प्रधानमन्त्री बन्न कन्जर्भेटिभ दलमा थुप्रै आकांक्षाी देखा परेका छन् । तीमध्ये भूतपूर्व विदेशमन्त्री बोरिस जन्सन पनि छन् । युरोपेली संसद्का नयाँ सदस्यहरूले कार्यभार सम्हाल्नुअगाडि नै बेलायतले युरोपेली युनियन त्याग्ने हो भने त्यसको अन्तिम मिति जुलाई १ हो । हाल बताइएको ब्रेक्जिटको नयाँ समयसीमा चाहिँ अक्टोबर ३१ छ ।
बेलायतको बर्हिगमन सम्बन्धि सो योजना ब्रेजिक्ट अस्वीकृति भएपछि बेलायतले कुनै सम्झौता बिना यूरोपेली युनीयन छोड्नुपर्ने हुन्छ । त्यसको बेलायतमा नकरात्मक असर पर्ने बताइन्छ । खास गरी आयरल्याण्डसँगको सम्बन्ध के हुने भन्ने विषयले बेलायतमा दलहरुबीच विवाद भएको बताइन्छ । २०१६ मा बेलायतमा भएको जनतमतसंग्रहले बेलायत यूरोपेली यूनियनबाट अलग्गिनुर्पे जनादेश दिएको थियो । (एजेन्सी)