काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले काँग्रेस मेला आयोजना गर्ने भएको छ । जागरण अभियानमा सक्रिय रहेको काँग्रेसले नेता तथा कार्यकताहरुलाई मोबिलाइजेशन गर्न विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
काँग्रेस केन्द्रीय समिति अन्तर्गतको केन्द्री नीति, अनुसधन तथा प्रशिक्षण प्रतिष्ठानको शुक्रबार बसेको बैठकले काँग्रेस मेला आयोजना गर्ने निर्णय गरेको काँग्रेसले जनाएको छ ।
काँग्रेस उपसभापति विमलेन्द्र निधीको नेतृत्वमा रहेको सो प्रतिष्ठानले काठमाडौंमा र देशका विभिन्न स्थानमा काँग्रेस मेला आयोजना गर्ने निर्णय गरेको हो । सो मेलामा काँग्रेस सम्बन्धि विभिन्न जानकारी दिइने छ । काँग्रेसले देशमा गरेका कामहरुबारे पनि जानकारी दिइने काँग्रेसले जनाएको छ ।
यस्तै बैठकले ७ वटै प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि देशका १४ स्थानमा प्रशिक्षण कार्यक्रम गर्नेसमेत निर्णय गरेको काँग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस्तै क्रियाशील सदस्यहरुका लागि एक दिने आधारभुत तालिम पनि सञ्चालन गर्ने निर्णय गरिएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयको विज्ञप्ति :
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान
जेठ ३, २०७६
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर ललिपुरमा आज सम्पन्न भयो । प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा। पुरुषोत्तम दाहालले बैठकका प्रस्तावहरुका सम्बन्धमा जानकारी गराउनु भयो र सदस्यहरुले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
बैठकको निर्णय देहाय बमोजिम रहेको छ :
१. ७ वटै प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरुका लागि २ दिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।
२. नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुका लागि १ दिने आधारभूत प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।
३. नेपाली कांग्रेसले केन्द्रीय स्तर ९काठमाडौं० मा र देशका अन्य भागमा पनि क्रमशः ‘नेपाली कांग्रेस मेला’ कार्यक्रमको आयोजना गर्ने ।
४.जेठ १५ गते गणतन्त्र दिवसको सन्दर्भमा काठमाडौँंमा जेठ १४ गते ‘गणतन्त्रको एक दशक’ विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम, १५ गते विहान प्रभातफेरी र बेलुका दीप प्रज्वलन तथा १६ गते संघीयताको कार्यान्वयन विषयमा विचार गोष्ठी आयोजना गर्ने ।
५. जिल्लाहरुमा पार्टीको राष्ट्रिय जागरणको कार्यक्रमसँगै समन्वय हुने गरी कार्यक्रम संचालन गर्ने र जिल्लामा हुने गणतन्त्र दिवसको कार्यक्रमलाई सहजीकरण गर्न केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट प्रतिनिधिहरु पठाउने ।
मुक्ति आचार्य
सचिव