काठमाडौं, वैशाख २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको कार्यशैलीविरुद्ध खनिएका छन्।
सभामुख महरा सत्तापक्ष जस्तो भएर सदनमा प्रस्तुत भएको भन्दै देउवाले आक्रोश पोखे। बुधबारदेखि सुरु भएको कांग्रेसको जागरण अभियान अन्तर्गत काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सभामुख महरा निरीह भइसकेको बताए।
उनले नेपालको संसदीय इतिहासमै महरा कमजोर, डरपोक र काँतर सभामुखका रुपमा देखेको बताए। ‘संसदीय अभ्यासमा यति कमजोर, यति डरपोक र यति काँतर सभामुख मैले पहिलो पटक देखे। यस्तो डरपोक सभामुख मैले अहिलेसम्म देखेको थिइनँ,’ सभापति देउवाले भने।
देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा बोलेका भाषा गैरसंसदीय भएको र त्यो हटाउन आफूहरुले माग गरेपनि सभामुख बोल्नै नसकेको बताए। ‘संसदमा प्रधानमन्त्री देखिहाल्नु भयो कि प्रधानमन्त्रीले संसदमा गैरसंसदीय भाषा बोले। हामीले विरोध गयौं र सभामुखलाई हामीले भन्यौ–यो गैरसंसदीय भाषा हटाउनुस्। तर, सभामुख बोल्नै सकेनन्,’ उनले भने।
उनले यसअघिका सभामुखहरुले कहिल्यै सत्तापक्षको जस्तो व्यवहार नगरेको स्मरण पनि गरे। ‘यसअघि धेरै सभामुख भएका छन्। उनीहरु सत्ता पक्षको सभामुखजस्तो गरी कहिल्यै प्रस्तुत भएनन्, त्यो व्यवहार गरेनन् बरु विपक्षीको भूमिका र भावनालाई महत्व दिन्थ्ये,’ देउवाले भने,‘तर, अहिलेका सभामुख निरीह बनिसके।’
उनले विस्तारै विस्तारै कम्युनिष्टको नियत कस्तो हुँदो रहेछ भन्ने प्रष्ट हुँदै गएको पनि बताए। ‘अब प्रधानमन्त्री जे पायो त्यही बोल्ने भइसके, संसदमा होस् वा बाहिर। सभामुख निरीह भइसके। त्यसैले मैले भनेको थिए कम्युनिष्टको शासान आएपछि यस्तै हुन्छ भनेर,’ उनले भने।
उनले आफूहरु कुर्सी, रेलिङ भाँच्ने प्रतिपक्षी नभएको प्रष्ट पारे। ‘हामी कुर्सी, रेलिङ भाँच्ने प्रतिपक्षी होइनौं। र, भोलि पनि त्यो काम गर्दैनौं,’ देउवाले भने,‘सरकारको यस्तै रवैया कायम भयो भने कम्युनिष्टलाई हटाउन सडकबाटै भएपनि आन्दोलन गर्छौं।’
उनले आफू नेतृत्वको सरकारले गरेका कामलाई मैले गरेको भनेर ओली सरकारले प्रचार गरिरहेको आरोप लगाए। ‘मैले नेतृत्व गरेको सरकारले गरेका काम आफूले गरे भन्न पनि ओली सरकारलाई लाज छैन,’ उनले प्रश्न गरे,‘अरुले गरेका काम गरे भन्न लाज लाग्नु पर्ने होइन?’
उनले सरकारले सबै क्षेत्रमाथि हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाए।