काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बुधबार (आज)देखि एकसाथै देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा निस्किएको छ। सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिएर तीन चरणमा वर्षभरि अभियान चलाउने कांग्रेसले जनाएको छ।
आजबाट सुरु भएको पहिलो चरणको कार्यक्रम जिल्लाकन्द्रित, दोस्रो चरण प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणको अभियान स्थानीय तहकेन्द्रित हुने कांग्रेसले जनाएको छ। आजबाट सुरु भएको पहिलो चरणको अभियान जेठ २५ गते सम्म सञ्चालन हुनेछ। जसका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ। अभियान सफल बनाउन कांग्रेसले सबै भ्रातृ संस्थालाई परिचालन पनि गरिएको जनाएको छ।
दोस्रो, भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो, पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका अभियानको कार्यसूची सार्वजनिक गरेको छ। पहिलो चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा सबै (७ सय ५३) स्थानीय तहमा अभियान सञ्चालन हुनेछ।

त्यसका लागि कांग्रेसले प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। साथै पार्टीका शीर्ष नेताले सात वटै प्रदेशबाट अभियानको आरम्भ गर्ने कांग्रेसले जनाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजय गच्छदार, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्का र कोषाध्यक्ष सीतादेवी यादवलाई सात प्रदेशमा हुने कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा खटिएका छन्।
सभापति देउवा प्रदेश ३, वरिष्ठ नेता पौडेल प्रदेश २, उपसभापति विमलेन्द्र निधि सुदूरपश्चिम प्रदेश, उपसभापति विजयकुमार गच्छदार प्रदेश १, महामन्त्री शशांक कोइराला प्रदेश ५, महामन्त्री पूर्णबहादुर खड्का गण्डकी र कोषाध्यक्ष सीतादेवी यादव कर्णाली प्रदेशमा खटिएका छन्। उनीहरुले एकै समयमा एकै किसिमले अभियानको प्रारम्भ गर्ने शर्माले जानकारी दिए।
यद्यपि बजेट अधिवेशन जारी रहेकोले सांसदहरुलाई जिल्लाका खटाउने यसअघिको निर्णयमा परिमार्जन गरिएको छ। पछिल्लो निर्णयअनुसार संघीय संसदमा रहेका सांसद अभियानका लागि जिल्ला जान नपर्ने भएको छ।
उनले भने, ‘पार्टी पदाधिकारीहरुलाई सातवटै प्रदेशमा प्रमुख अथितिका रुपमा पठाइएको छ। यस्तै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ, एकैसाथ सबै जिल्लामा अभियानको सुरुवात हुृन्छ। नेपाली राजनीतिमा एकै स्वरूपको पहिलो कार्यक्रमका रूपमा अभियानको प्रारम्भ हुँदै छ।’
यस्तै प्रवक्ता शर्माले देशबाहिर पनि विभिन्न ३३ मुलुकमा कार्यक्रम सञ्चालन हुने जानकारी दिए। अभियान गर्नुका १५ वटा उद्देश्य उनले सुनाए। ‘अभियानको पहिलो उद्देश्य पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सुसूचित गर्ने हो। अभियानका क्रममा कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका कामको पनि प्रचार गर्छाैं। सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी पनि गर्छौं।
प्रवक्ता शर्माले भने, ‘सरकारका भ्रष्टाचारलगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ। जनता, मतदाता र कांग्रेस पार्टीका विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाउन जनसंवादमार्फत जनताका मुद्दामा अग्रसर भई पार्टीलाई थप समर्पित गराउने हाम्रो मुल उद्देश्य हो।’

यस्तै अभियानबाट राष्ट्रव्यापी रूपमा पार्टी पंक्तिमा नवीन ढंगको एकता, समन्वय, हार्दिकतासहित सुदृढीकरणका गतिविधि अघि बढाउने प्रवक्ता शर्माको दाबी छ। उनका अनुसार अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको छ। त्यस्तै आफूहरुले आजदेखि कुनै पनि कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको अन्त्य गर्ने शर्माले दाबी गरे।
उनका अनुसार कार्यक्रमको उद्घाटन वरपीपल, समीमध्ये कुनै एक बिरुवा रोपेर गरिनेछ। जागरण अभियानका कांग्रेसले १२ भाषामा रहेको गीत प्रस्ुतत गर्ने छ। ‘मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको छ। यसबाट सबै जातिका सबै तहका मानिसलाई जागरण अभियानमा समेट्ने प्रयास गरेका छौँ। यो गीत कार्यकताको माहोललाई ध्यानमा राखेर प्रस्तुत गर्ने छौँ।’ गीतको रचनाकारसमेत रहेका प्रवक्ता शर्माले भने।