काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन्। संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले गर्नै नसक्ने कार्यक्रम ल्याएर सरकारले दिउसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन्।
शुसासन र भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्दै प्राथमिकतामा राख्ने सरकारका अघि कयौं भ्रष्टाचारका काण्ड भइरहेको भन्दै उनले नियन्त्रण भन्दा पनि प्रधानमन्त्री भ्रष्टाचारीलाई जोगानउ लागेको आरोप लगाए। उनले भने, ‘शुसासनमा शहीद मञ्च नै छैन। बालुवाटारै अर्कैले लगिसक्यो। एनसेलले कर नतिरेर कहाँ हिडिसक्यो। १२ अर्ब रुपैयाँ बढी तिरेर फोरजी ल्याइएको छ। वाईडवडी कहाँ छ कहाँ?’
संविधानको मर्म विपरित राष्ट्रपतिले सम्बोधनका क्रममा पटक पटक ‘मेरो सरकार’ भनी सम्बोधन गरेकोमा उनले आपत्ति जनाए। संविधानमा गरिएको व्यवस्थाको फेहरिस्त प्रस्तुत गर्दै उनले मेरो सरकार भनी गरिएको सम्बोधन संविधान विपरित भएकाले संसोधन गर्नुपर्ने माग गरे।
उनले भने, ‘संविधानले नै नेपाल सरकारले गर्ने छ÷गरिने छ भनेर स्पष्ट लेखिएको छ। त्यहाँ मेरो सरकार भन्न मिल्यो कि मिलेन? संविधानको आधारशिलामा उभिएको प्रधानमन्त्रीले, संविधानको जगमा उभिएको व्यवस्थापिकाले, संविधानमा उभिएको राष्ट्रपतिले मेरो सरकार भन्न मिल्छ? यो संवैधानिक रुपमा घोर आपपत्तजनक छ।’
सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि गर्ने गरिएको सम्बोधन गर्दा पृथक ढंगबाट राष्ट्रपतिको सम्बोधन भएको भन्दै नीति तथा कार्यक्रममा आफूहरुले दर्ता गराएको संशोधन प्रस्तावलाई स्वीकार गरी सच्याएर अघि बढ्न आग्रह गरे।