एजेन्सी – पछिल्ला दुई दिनदेखि मानवीय त्रासदीका केही विभत्स तस्बिर सोसल मिडियामा सेयर गर्दै यो श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध बिस्फोटपछिका दृश्य भएको दाबी गरिँदै छ ।
यी तस्बिरलाई ट्विटर र फेसबुकबाहेक सेयरच्याट एपमा पनि सयौं पटक सेयर गरिएको छ ।
यसै दाबीका साथ यी तस्बिरलाई ह्वाट्सएपमा पनि सर्कुलेट गरिएको बीबीसीले पत्ता लगाएको छ ।
तर यी भाइरल तस्बिरबारे जब बीबीसीले अनुसन्धान गर्यो तब यी सबै श्रीलङ्काको पुरानो तस्बिर भएको जसको हालैको बम बिस्फोटसँग कुनै सम्बन्ध नभएको पाएको छ ।
सन् २००६ को घटनाः
यो फेसबुक पोष्टमा देखिएका दुई तस्बिर सन् २००६ जून १६ को हो ।
समाचार एजेन्सी एएफपी र फोटो एजेन्सी गेटीका अनुसार १५ जून २००६ मा एक बारुदी सुरुङ बिस्फोटमा परी उनीहरुको मृत्यु भएको थियो । उक्त दुर्घटनामा ६० बढी मारिएका थिए ।
पुरानो मिडिया रिपोर्ट अनुसार हमलाकर्ताले एक बसलाई निशाना बनाएका थिए ।
त्यतिबेला श्रीलङ्काली सरकारले उक्त घटनाको पछाडि चरमपन्थी संगठन ‘लिबरेशन टाइगर्स अफ तमिल इलम’ अर्थात् एलटिटिईको हात भएको आरोप लगाएको थियो ।
यद्यपी, एलटीटीईले एक बयान जारी गर्दै सरकारको आरोप आधारहिन भएको बताउँदै अस्विकार गरेको थियो ।
मिडिया रिपोर्टमा यो घटनामा मर्नेको संख्या ६४ बताइएको थियो जसमा १५ बच्चा समावेश थिए । यो घटनामा करिब ८० जना घाइते पनि भएका थिए ।
कालोम्बोकी सबैभन्दा सानी शहीद ?
सोसल मिडियामा यो तस्बिरलाई ईस्टर सन्डेको दिन श्रीलङ्कामा भएको श्रृङ्खलाबद्ध बम बिस्फोटमा मारिनेमा यी बालिका पनि हुन् भन्दै सेयर गरिँदै छ ।
यो भाइरल तस्बिरमा बालिकाको शव नजिकै बसेका व्यक्ति रोइरहेको देख्न सकिन्छ । फेसबुकमा भएका विभिन्न धार्मिक समूहले यो तस्बिर यही दाबीका साथ सेयर गरिरहेका छन् ।
श्रृङ्खलाबद्ध बम बिस्फोटबारे लेखिएका एक ब्लगमा पनि यही तस्बिरको प्रयोग गरिएको छ । एक ब्लग लेखले यी बालिकालाई कोलोम्बोकी सबैभन्दा सानी शहीद बताएका छन् ।
तर अनुसन्धानमा पत्ता लागे अनुसार यो तस्बिर पछिल्लो एक वर्षदेखि फेसबुकमा सेयर गरिँदै आएको छ । अर्थात्, यो तस्बिरको इस्टर सन्डेको दुर्घटनासँग कुनै सम्बन्ध छैन ।
यो तस्बिर सबैभन्दा पहिले सन् २०१८ को मे १२ मा पोष्ट गरिएको थियो ।
यो पोष्टमा फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले यो दुःख कसरी सहने । संसारका कुनै पनि पिताले कहिले पनि यस्तो पीडा सामना गर्नु नपरोस् ।’
बुधबारसम्म मृतकको संख्या ३५९ पुगेको बताइएको थियो तर बिहिबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले गन्तीमा त्रुटी भएको बताउँदै अहिलेसम्म २५३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।